दशैंका बेलामा लुट्न आएका भारतीय पक्राउ !


नेपाल समाचारपत्र, बाँके । दशैंको बेलामा बैंकमा पैसा झिक्न जानेको शरीरमा चिलाउने बस्तु या बिस्कुटको लेदो छर्केर फोहोर बनाई धुन लागेको बेलामा झोला थुतेर भाग्ने दुई जना भारतीयलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतको गोरखपुरबाट पैसा लुट्न आएका जोनी दास र मोनी दास सानिमा बैंक अगाडि शंकास्पद गतिविधि गरिरहदा पक्राउ परेका हुन् । दासद्वयले बैंकबाट पैसा झिकेर फर्किएका एक बृद्धको शरीरमा बिस्कुटको लेदो तीन पटक थुकेका थिए । बृद्धले थाहा नपाएर हिडेपछि पैसा लुट्ने उनीहरुको योजना अपूरो भएको थियो ।
बैंकको गार्डले त्यो शव गतिविधि नियालिरहेको र प्रहरीलाई खबर गरेपछि उनीहरु पक्राउ परेका हुन् । यी दुई जना चाडबाडका बेलामा नेपालगञ्जमा आएर बैंकबाट पैसा झिक्नेलाई लुट्ने व्यवसायिक लुटेरा भएको अनुसन्धानबाट खुलेको छ ।
गतवर्ष कात्तिक ५ गते मेघा बैंकबाट ६ लाख रुपैया निकालेर सिटिजन्स बैंकमार्फत अर्कोलाई पैसा पठाइदिन निस्केका नेपालगञ्जका निर्णय जंग शाहको शरीरमा चिलाउने बस्तु फालेर दासद्वयले लुटेका थिए । शरीरमा चिलाउने फालेपछि शाहले पैसा झोलालाई छेउमा राखेर हातमुख धुने बेलामा लुटेराले झोला तानेर भागेका थिए ।
दासद्वय फेरि पनि दशैं शुरु भएपनि नेपालगञ्ज आएका थिए । यसपाली पनि भने उनीहरु फन्दामा परेका छन् । उनीहरुको साथबाट चोरी गर्न प्रयोग गर्ने फलामको औजार छिना दुई थान, गुड्डे बिस्कुट एक प्याकेट बरामद भएको छ ।
बैंकबाट पैसा झिक्ने व्यक्तिलाई अल्झाएर लुट्न पल्केका भारतीयहरु चाडबाडको बेलामा नेपाल आउने गरेका हुन् । यस्ता लुटेराको सञ्जाल ठूलो रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गतवर्ष बाँके, सुर्खेत, दाङलगायतका जिल्लामा बैंकबाट पैसा झिक्ने व्यक्ति लुटिएका थिए । यी सबै ठाउँमा यिनीहरुको सञ्जाल रहेको प्रहरीले आकलन गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँट इन्चार्ज बीरबहादुर थापाले बैंक आसपासमा बसेर पैसा लुट्ने ५÷७ जनाको गिरोह रहेको बताउनुभयो । ‘दुई जना पक्राउ गरियो, अरु पनि छन् । उनीहरुको हामीले खोजी गरिरहेका छौं, थापाले भन्नुभयो ।
नेपालीहरुको महान चाडहरुमा भारतबाट नेपाल आउने नेपाली, बैंकबाट पैसा झिक्ने या मठमन्दिरको भीडभाडमा लुटेन गिरोह भारतीय नै हुने गरेको पाइएको छ । ‘सिजन’ मा आएर लुट्ने र भारत पस्ने गिरोह ठूलो रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । यस्तोमा नेपाली पनि मिसिएका छन् । प्रहरीले पक्राउ गर्न भने सकेको छैन । ‘नेपालगञ्जमा लुटेर भारतको बहराइचमा गएर मस्ती गर्ने गरेको सूचना पाएका छौं, वडा प्रहरी कार्यालयका इन्चार्ज राजन गौतमले भन्नुभयो, उनीहरु चाडबाडमा हुने भीडभाडमा यता आउने गर्दछन् । समाप्त सकेका छैनौ ।’ दशैं तिहारमा घर खाली हुँदा चोरी गर्नेहरु पनि यिनीहरु नै हुन् । गतवर्ष दशैं र तिहारमा १३ ठाउँमा २६ लाखको चोरी भएको थियो । यो गिरोह पक्राउ नै पर्न सकेनन् ।