बाल यौन शोषकको सिफारिसका कारण गठबन्धनमा फुट


रिक्ज्याभिक, (एजेन्सी)
बाल यौन शोषणमा संलग्न एक व्यक्तिसँग आइसल्यान्डका प्रधानमन्त्री जोर्नी बेनेडिक्टसनको नाम जोडिएपछि देशको सत्तारूढ गठबन्धन टुटेको छ।

ब्राइट फ्युचर पार्टीले नौ महिना लामो तीन पार्टीको गठबन्धनबाट आफू हटेको घोषणा गरेको छ। बेनेडिक्टसनका पिताले बाल यौन शोषणमा दोषी ठहरिएका एक व्यक्तिलाई सिफारिस गरेको घटना बाहिर आएपछि उक्त घोषणा आएको हो। आइसल्यान्डमा दोषी व्यक्तिले आफ्नो सम्मान पुनः प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ। त्यसका लागि दोषीले सरकारी निकायबाट सिफारिसपत्र हासिल गर्नु आवश्यक छ।

सिफारिसपत्र प्राप्त भएपछि दोषीको नामलाई आपराधिक रिकर्डबाट हटाइन्छ। त्यसपछि मात्र उसले काममा फर्कने स्वीकृति पाउँछ।

१२ वर्षसम्म लगातार प्रत्येक दिन सौतेली छोरीलाई बलात्कार गरेकामा दोषी पाइएका ती व्यक्तिलाई सिफारिस गरेकामा आइसल्यान्डका नागरिकहरू स्तब्ध भएका थिए।

बेनेडिक्टसनको सरकारमाथि यस मामिलालाई ढाकछोप गर्ने प्रयास गरको आरोप पनि लागेको छ। शुरूमा सरकारले उनको सिफारिसका लागि पत्र कसले लखेको थियो भन्ने कुरा बताउन सरकारले आनाकानी गरेको थियो।

प्रधानमन्त्री बेनेडिक्टसनलाई गत जुलाईमा मात्र उक्त मामिलामा उनकै पिताको भूमिका रहेको जानकारी दिइएको थाहा भएको छ।