भूमिगत ट्रेनमा विस्फोट,कम्तीमा २२ घाइते


लन्डन, (एजेन्सी)
लन्डनको दक्षिण पश्चिम इलाकामा भूमिगत ट्रेनमा भएको एक विस्फोटमा कम्तीमा २२ जना घाइते भएका छन्।

सरकारले उक्त विस्फोटलाई कट्टरपन्थी घटनाका रूपमा लिएको जनाएको छ। विस्फोटमा कच्चा खालको विस्फोटक पदार्थ अर्थात् आईईडीको प्रयोग गरिएको र त्यसलाई ‘आतंकको घटना’ भएको प्रहरीले जानकारी दिएको छ। एकजना महिलाको खुट्टादेखि अनुहारसम्म पुरै जलेको प्रत्यक्षदर्शीहरूले बताए। उनलाई अस्पताल लगिएको पनि उनीहरूले बताए।

लन्डनका मेयर सादिक खानले पार्सन्स ग्रिन विस्फोटको घटनालाई लिएर ‘लन्डन पराजित नहुने’ प्रतिक्रिया दिएका छन्।

एनएचएस इंग्ल्यान्डले इम्पेरियल, चेल्सी र वेस्टमिनिस्टरमा २२ जना घाइतेको उपचार भइरहेको जानकारी दिए। तीमध्ये १८ जनालाई एम्बुलेन्सले अस्पताल पुर्याइएको र अन्य ४ जना आफै पुगेको सेन्टर लन्डन कम्युनिटी हेल्थकेयर अर्जेन्ट केयर सेन्टरले जनाएको छ।

पार्सन्स ग्रिन स्टेसनमा विस्फोटका लागि प्रयोग गरिएको उक्त विस्फोटक पदार्थलाई धेरैको ज्यान लिने उद्देश्यले ठूलो विस्फोट गराउन तयार पारिएको तर त्यो सही तरिकाले विस्फोट हुन नपाएको विशेषज्ञहरूले बताए।

पार्सन्स ग्रिन स्टेसनमा यात्रीहरूले ट्रेनको एउटा डिब्बामा केही विस्फोट भएको र आगोको ज्वाला देखिएको बताए। उक्त स्टेसन लन्डनको भूमिगत रेल सञ्जालको एक खुला हिस्सा हो।

विस्फोटलगत्तै यात्रीहरूमा भागदौड मच्चिएको र रेलको ढोका खुलेपछि सकेसम्म छिटो निस्कने प्रयासमा भर्याङमा भागदौड मच्चिएकाले कयौं घाइते भएको भएको यात्रीहरूले बताए।

ट्रान्सपोर्ट फर लन्डनले ट्विटमा भनेको छ– ‘हामी पार्सन्स ग्रिनमा भएको घटनाको जाँच गरिरहेका छौं।’

प्रत्यक्षदर्शीहरूले विस्फोटका कारण उत्पन्न आतंकका तस्वीरहरू र विस्फोटक पदार्थ विश्वास गरिएको सामाजिक सञ्जालमा सेयर गरेका छन्।