६ महिनाभित्र बाढी प्रभावित बस्तीमा घर बनाउँछौं ः गृहमन्त्री शर्मा

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं
गृहमन्त्री जनार्दन शर्माले ६ महिनाभित्र बाढी प्रभावित क्षेत्रमा घर बनाइसक्ने गरी योजना निर्माण भइरहेको बताउनुभएको छ। शुक्रबार चितवनको माडीमा आयोजित ‘माडी सांस्कृतिक उत्सव, कृषि, पर्यटन तथा व्यापारमेला’ को उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो।

शुक्रबार मध्यान्ह चितवनको बाढी प्रभावित क्षेत्रमध्येको माडी पुग्नुभएका मन्त्री शर्माले केही दिनमै बाढी प्रतिरोधक घरको डिजाइन तयार गरिने बताउनुभयो।

‘भवनको डिजाइन तयार भएपछि प्रभावितहरूलाई उचित रकम दिइनेछ’, उहाँले भन्नुभयो– ‘करिब ६ महिनाभित्र प्रभावित बस्तीहरूमा बाढी प्रतिरोधक घर बनाइसक्नुपर्नेछ।’

प्रकृतिले दिएको दुःख र विपत्तिका कारण हाम्रो अगाडि एकपछि अर्को चुनौती आइरहेको उल्लेख गर्दै मन्त्री शर्माले बाढीले दिएको घाउमा मल्हम लगाउन सांस्कृतिक उत्सवसहितको कार्यक्रम आयोजना गरेकोमा माडी बासीलाई धन्यवाद दिनुभयो। शुक्रबारबाट शुरू भएको ‘माडी सांस्कृतिक उत्सव, कृषि, पर्यटन तथा ब्यापारमेला’ असोज ८ गतेसम्म चल्ने आयोजक ग्रामीण सञ्चार सञ्जाल माडीले जनाएको छ।

‘हामीले दुःखलाई सधैं अँगालेर हुँदैन, त्यसलाई सामना गर्ने नयाँनयाँ बाटो रोज्नुपर्छ’, उहाँले भन्नुभयो– ‘बाढी प्रभावित क्षेत्रहरू बिस्तारै आफ्नो लयमा फर्कंदै छन्।’ सरकार बाढीको चुनौती सामना गर्ने चरणमा रहेको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, ‘भाषणले शासन बदलिँदैन्, भाषणले शासन बदलिने भएको भए हामीले यत्ति धेरै संघर्ष गर्नुपर्ने थिएन्, बरु प्रतिबद्धता, विधि र कानुनले शासन बदलिन्छ।’

सम्भावना बोकेको ऐतिहासिक माडीमा एक सय वर्षको इतिहासमा आएको सबैभन्दा ठूलो बाढीले जनको क्षति नभए पनि धनको ठूलो क्षति भएको मन्त्री शर्माले बताउनुभयो।

‘म सेवक हुँ, जनताको आदेश मान्छु’
गृहमन्त्री शर्माले संघर्ष र बलिदानीबाट बनेको संविधानमा जनताको अधिकार स्थापित भएको उल्लेख गर्दै नयाँ संविधानमा जनताका मात्र अधिकार भएको दावी गर्नुभयो।

‘नयाँ संविधानमा कुनै राजा महाराजा र सामन्तका अधिकार छैनन्, केवल जनताका अधिकार छन्’ उँहाले भन्नुभयो– ‘हामी ती अधिकार कार्यान्वयनको एउटा चरणमा छौं।’ ‘स्थानीय निर्वाचन, संघ र प्रदेशको चुनाव सम्पन्न गर्दै नयाँ संविधानअनुसारको राज्य व्यवस्था सञ्चालन गर्न हामी लागिरहेका छौं’ उहाँले भन्नुभयो– ‘निर्वाचन गर्नका लागि आवश्यक कानुनहरू बनाउँदै छौं, म त्यसमा लागिरहेको छु।’

आफूहरू इमानदारितापूर्वक संविधान कार्यान्वयनमा लागेको उल्लेख गर्दै मन्त्री शर्माले राजनीतिक नेताहरू जनताको मालिक हुन नसक्ने बताउनुभयो। ‘म तपाईंहरूको सेवक हुँ, तपाईंको आदेशमा मैले काम गर्नुपर्छ’ –उहाँले भन्नुभयो, ‘हिजो शासक धेरै हुँदा राष्ट्र विकास हुने सकेन, जनताले दुःख पाए अब कोही शासक बन्न खोज्छ भने ऊ सफल हुँदैन्।’ शासकलाई जनताले स्विकार नगर्ने हुनाले राजनीति गर्नेहरू सेवक बनेर भ्रष्टाचारका विरुद्ध लडेमा मुलुक १५ वर्षमा संवृद्ध हुने उहाँको भनाइ थियो।

मन्त्री शर्माले माडीमा रहेका सुकुम्बासीको समस्या नगरपालिकाले नै समाधान गर्न सक्ने भन्दै नयाँ संविधानले स्थानीय निकायले त्यो अधिकार दिएको बताउनुभयो।