आयल निगम प्रमुखलाई कारबाहीमा ढिलाइ

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं
नेपाल आयाल निगमको भण्डारण क्षमता वृद्धिका लागि खरिद गरिएको जग्गामा भ्रष्टाचार भएको संसदीय समितिले ठहर गरिरहँदासमेत आयल निगमका प्रमुख गोपाल खड्कालाई कारबाही हुनसकेको छैन। व्यवस्थापिका संसद्अन्तर्गतको तीनवटा समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गरिसकेको छ।

सुशासन समितिले स्थलगत अनुगमनपछि प्रतिवेदन सार्वजनिक गर्दै निगम प्रमुख खडकालाई पदीय काम कारबाहीबाट विमुख गर्न सरकारलाई निर्देशनसमेत दिइसकेको छ। तर हालसम्म प्रमुख खड्कामाथि कारबाही भएको छैन।

समितिको भदौ २५ गतेको बैठकले खड्कालाई पदबाट निलम्बित गरी छानविन अगाडि बढाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो। सोहीअनुसार समितिले २६ गते आपूर्ति मन्त्रालयलाई पत्र पठाएको समितिका सचिव मुरारी महतले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘समितिको निर्णयअनुसार हामीले पत्र पठाइसकेका छौं। सायद मन्त्रालयले पनि केही गर्दै होला। तर अहिलेसम्म कारबाही नभएको सबैलाई थाहा नै छ।’
यता आपूर्ति मन्त्री शिवकुमार मण्डलले कारबाही प्रक्रिया अगाडि बढेको बताउनुभएको छ। मण्डलले कारबाहीका लागि मन्त्रालयबाट सिफारिस भई मन्त्रिपरिषद्मा पठाइएको बताउनुभयो। मन्त्रिमण्डलले निगम प्रमुखका विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्ने बताउनुभयो।

सुशासन समितिको पत्रबारे मन्त्रिमण्डलले भन्नुभयो– ‘पत्र प्राप्त भएको छ। सरकार त्यसप्रति गम्भीर छ।’ तर मन्त्रालय स्रोतका अनुसार पत्र प्राप्त भए पनि त्यस विषयमा कुनै ठोस कदम उठाइएको छैन। मन्त्रालयले समितिको पत्रलाई जहिले पनि अलपत्र पार्ने गरेको उनीहरूको भनाइ रहेको छ। तर मन्त्रिमण्डलले समितिको पत्रप्रति आफू गम्भीर भएको र कारबाही प्रक्रिया अगाडि बढाइको दाबी गर्नुभयो।