आयोगको गतिविधि शंकास्पद



काठमाडौं, (नेस) ।
निर्वाचन पर्यवेक्षकहरूले निर्वाचन आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ र आम निर्वाचन पर्यवेक्षक समिति जियोकका अध्यक्ष हिमालयशमशेर राणाले निर्वाचन आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

शुक्रबार राजधानीमा आयोजित तेस्रो चरणको स्थानीय तह निर्वाचनपूर्वको पर्यवेक्षण समीक्षा कार्यक्रममा बोल्दै नियोकका अध्यक्ष श्रेष्ठले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन हुँदासमेत सरकारलाई कारबाही गर्न नसकेकामा आपत्ति जनाउनुभयो।

पूर्व प्रमुख निर्वाचन आयुक्तसमेत रहेका उहाँले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने संवैधानिक जिम्मेवारी पाएको आयोग सरकारको लाचार छायाजस्तो भएकामा आफू दुःखित भएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो। अध्यक्ष श्रेष्ठले कार्यान्वयन नहुने आचारसंहिता किन बनाउनुपरेको भन्दै निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण पनि गराउनुभयो।

आम निर्वाचन पर्यवेक्षक समिति जियोकका अध्यक्ष राणाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको प्रचार अभियानका क्रममा व्यापक आचारसंहिता उल्लंघन हुँदासमेत निर्वाचन आयोगले केही गर्न नसकेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले आयोगको निष्पक्षतामाथि नै प्रश्नचिह्न खडा हुने बेला आएकामा आफूलाई चिन्ता लागेको पनि उल्लेख गर्नुभयो।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति र आम निर्वाचन पर्यवेक्षण समितिले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा ३ सय ८५ जना पर्यवेक्षक परिचालन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्