इटा उद्योग सञ्चालनमा रोक लगाउन प्रशासनमा उजुरी



उत्तम नेपाल, भद्रपुर । ईटा उद्योग खोल्न व्यवसायीले कागजी प्रक्रिया सुरु गरेको स्थानीयले थाहा पाएपछि वातावरण प्रदुषणबाट मानविय स्वास्थ्यलाई प्रत्यक्ष असर परेको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा उजुरी पर्ने थालेको छ । खेती योग्य जमिनमा धमाधम व्यवसायीले ईटा उद्योग खोल्न थालेपछि अनुमति दिएकालाई तत्काल खारेज गर्नुपर्ने र सञ्चालनमा आएकालाइ बन्द गराउन प्रशासन कार्यालय झापा मार्फत घरेलु तथा साना उद्योग कार्यालयमा तीन वटा उजुरी परेका हुन् ।

झापाको कचनकवल गाउपालिकावाट दुई वटा र गौरदाह नगरपालिकावाट एउटा उजुरी परेको छ । साविक बालुवाडी गाविस ५ हाल कचनकवल गाउपालिका ७ मा त्रिजटा नामक फिक्स चिम्नी ईटा उद्योग सञ्चालन लागि कागजी प्रक्रिया सुरु गरेपछि वातावरणमा असर पर्ने भन्दै २०७४ साल जेठ ११ गते प्रशासन कार्यालयमा लिखित उजुरी परेको छ । त्यस्तै साविक पाठामारी गाविस १ हाल कचनकवल गाँउपालिका ५ स्थित आमजुवानीमा जानतुम खातुनले ईटा उद्योग सञ्चालनको अनुमति लिन खोजेपछि पीडित गाँउले त्यसको विरोधम उत्रिएका छन् । खातुनलाई कचनकवल गाउपालिकाले उद्योग सञ्चालनको अनुमति दिने कागजीप्रक्रिया सुरु गरेपछि दुई दर्जन बढी स्थानीय प्रशासन कार्यालय आएर गत भदौ ११ गते उजुरी दिएका थिए । प्रशासन कार्यालयमा दिएको उजुरीलाई वेवस्ता गर्दै गाउपालिकाले स्थानीयसंग छलफल नगरी अनुमति दिने निर्णयमा पुगेपछि फेरी त्यहाका स्थानीयले भदौ २५ गते प्रशासनमा न्यायका लागि निवदेन दिएको स्थानीय धनलाल राजवंशीले बताए ।

 

साविक कोहवरा गाविस ७ हाल गौरदाह नगरपालिका ६ स्थित हेगा टोल नजिकै अरुण साहले ईटा उद्योग सञ्चालनका लागि नगरपालिकामा कागजी प्रक्रिया सुरु गरेको थाहा पाएपछि भदौ २ गते प्रशासन कार्यालयमा लिखित उजुरी दिएको छ । तीनै वटा परेको उजुरीमा मानववस्तीमा प्रत्यक्ष असर पर्ने उल्लेख गरिएको छ । खेती योग्य जमिनमा इटा उद्योग सञ्चालन गरेमा त्यस आसपासका जमिनमा अन्नबाली उत्पादन नहुने र किशान पलायन हुने उल्लेख छ । साथै त्यस क्षेत्रमा सामाजिक, भौतिक, रसायनिक र जैविक पक्षमा असर पर्ने देखिन्छ । यता पृथ्वीनगर २ हाल भद्रपुर नगरपालिका ३ मा सञ्चालित डिभीआई र नायक ब्राण्डका ईटा उद्योगबाट निस्किएको वायु र ताप प्रदुषणले मानव वस्तीलाई प्रत्यक्ष असर गरेको स्थानीयले गुनासो गरेका छन् ।

दुई वटा ईटा उद्योग मानववस्तीबाट हटाउनु पर्ने माग राख्दै स्थानीयले भद्रपुर नगरपालिका कार्यालयमा उजुरी समेत दिइसकेका छन् । ईटा उद्योगबाट निस्किएको बायु तथा ताप प्रदुषणले कृषि र स्वास्थ्यमा प्रत्यक्ष असर पारेको भन्दै लिखित उजुरी परेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा उजुरी परेपछि स्थानीय र ईटा व्यवसायी बिच पटक पटक छलफल भएपनि समस्याको सामाधान नभएपछि पीडित बनेका स्थानीय इटा उद्योग हटाउने पक्षमा उभिएको बुझिइएको छ ।

उद्योग मन्त्रलायको कार्यविधि दिग्दर्शन २०७२ विपरित हचुवा र पैसाबालाको पहँुचमा चलखेल गरी वातावरण प्रदुषण परिक्षण रिपोर्ट तयार गरेर इटा उद्योग सञ्चालनको अनुमति दिन थालेपछि झापामा यस्ता समस्या बल्झिएको सरोकारवालापक्षको दावी छ ।
ईटा उद्योग खोल्न व्यवसायीले कागजी प्रक्रिया सुरु गरेको स्थानीयले थाहा पाएपछि प्रशासन कार्यालय झापा मार्फत घरेलु तथा साना उद्योग कार्यालयमा तीन वटा उजुरी परिसकेको कार्यालयका उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्