आज रातिबाट ‘मौन अवधि’ सुरू हुँदै



नेपाल समाचारपत्र, काठमाडौ ।
प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको ‘मौन अवधि’ शुक्रबार राति १२ बजेबाट सुरु हुँदैछ । निर्वाचन कानुनमा मतदानको ४८ घन्टाअघिदेखि मौन अवधि सुरु हुने व्यवस्था भए अनुसार राति १२ बजेबाट मौन अवधि सुरु हुन लागेको हो ।

निर्वाचन आयोगले एक सूचना जारी गर्दै मौन अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ ।

मौन अवधि सुरु भएपछि दल तथा उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने छैनन् । निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिहृन तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ ।

आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिहृन अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ ।

निर्वाचन आयोगले सामाजिक सञ्जालका माध्यम जस्तै फेसबुक, भाइबर प्रयोग गरेर निर्वाचन प्रचार गर्न समेत रोक लगाएको छ ।

मौन अवधि सञ्चारमाध्यमहरु समेत सचेत हुनुपर्नेछ । यो अवधिमा सञ्चारमाध्यमहरुले उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशत प्रसारण गर्न नपाउने आयोगको सूचनामा उल्लेख छ ।

स्थानीय तहको पहिलो र दोस्रो चरणमा गरी ६ प्रदेशमा यसअघि नै निर्वाचन भइसकेको छ । असोज २ गते हुन लागेको निर्वाचनमा यसअघि निर्वाचनमा भाग नलिएका राजपासहित सबै दल सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्