नेपाल–भारत सुरक्षा अधिकारी बैठक सम्पन्न


 

वीरगञ्ज, २२ भदौ । आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लामा हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै आज वीरगंजमा नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठक बस्यो ।

पर्साका निमित्त प्रजिअ दुर्गादत्त पौडेलको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहीत वातावरणमा सम्पन्न गर्न दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा उच्च सतकर्ता अपनाउने, सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिने र सीमा क्षेत्रमा हुने सक्ने आपराधिक क्रियाकलापबारे दुवै देशका सुरक्षा अधिकारीले एक अर्कालाई सूचना आदानप्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले निर्वाचनलाई प्रभाव पार्ने गतिविधि रोक्ने, अवाञ्छित गतिविधि रोक्ने, मतदान शुरु हुनुभन्दा ७२ घन्टा अगावै सीमा नाका बन्द हुने भएकाले दुवै देशका सुरक्षाकर्मीले आवतजावतमा कडाइ गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा नेपालका तर्फबाट पर्सा, बारा तथा रौतहटका प्रजिअ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसधान विभागका प्रमुखको सहभागिता थियो भने भारतका तर्फबाट पूर्वी चम्पारणका डिस्ट्रिक मजिस्टेज (डिएम) रमण कुमार, पश्चिमी चम्पारणका डिस्ट्रिक मजिस्टेज (डिएम) श्री यज्ञ पि देवरेलगायतको सहभागिता थियो । रासस