बागलुङ बुटवलको यात्रा चार घण्टामा छोटिदैं


सिर्जना पन्त, बागलुङ । नेपाली सेनाले कालीगण्डकी करीडोरको सबै ट्रयाक खोले लगतै करिडोरमा पर्ने विभिन्न खोलाहरुमा वेलिब्रिजहरु निर्माणलाई तिब्रता दिएको छ । कालीगण्डकी करिडोरमा पर्ने गुल्मीको गौमती गंगा, पालुङखोला र बागलुङको ठेउलेखोलामा ३० टन क्षमताका ३२ मिटर लामा बेलिव्रिज निर्माण भइसकेको छ भने बागलुङको जैमुनिघाटको चौरीखोलामा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

कलिगण्डकी करिडोर सडक निमार्ण कार्यदलका प्रमुख सेनानी इन्जिनियर रेश्मीराज भटराईले चौरीखोलामा निर्माणधिन बेलिव्रिजको काम यो साता भित्र सकेर गाडि पास गर्न सुरु गर्ने भन्दैं बागलुङ देखि बुटवल चार घण्टामै पुग्न सकिने बताउँनुभयो । भट्राईका अनुसार बागलुङको लौहाखोलामा बेलिव्रिजको काम भैरहेको भएपनि सम्पन्न हुनलाई बैशाख सम्म कुर्नुपर्ने भएकाले लौहाखोलामा डार्भसन गरेर यातायात सुचारु गरिने बताउँनुभएको छ । उहाँका अनुसार एउटा वेलीब्रिज निर्माणको लागि झन्डै ४ करोड लाग्छ ।

उहाँले कालीगण्डकी करिडोरको ट्रयाक खोलेको भएपनि बागलुङ देखि वुटवल सम्म दुई दर्जनभन्दा बढी ठाडो खोलाहरु पर्ने भएकाले यातयातका साधानहरु सञ्चालन गर्न नसेकेको बताउँदैं निर्माण सम्पन्न भईसकेका बेलिव्रिजले हिउँदको समयमा निर्वाध रुपमा यातायातका साधनहरु सञ्चालन गर्न सकिने बताउँनुभयो । उहाँका अनुसार केहि समय भित्रै कालीगण्डकी करिडोरको ३ सय ८० कलिोमिटर सडक खण्डमा यातयात सञ्चालन हुनेछन् ।

‘वर्षभरि यातायात चल्नको लागि बागलुङका विभिन्न १० र गुल्मीका ८ वटा ठाडोखोलामा कल्भट निर्माण गर्नुपर्छ,’ भट्राईले भन्नुभयो ‘कल्भट निर्माण नगर्नेहो भने करिडोरमा हिउँदको ६ महिनाभन्दा बढी यातायात सञ्चालन गर्न सकिदैन’ । उहाँले करिडोरका विभिन्न स्थानमा पर्ने ठाडाखोलाहरुमा कल्भट निर्माणको लागि थप ७० करोड बजेट आवश्यक पर्ने बताउँनुभयो ।

कालीगण्डकी करिडोरले चीनको कोरला नाका, म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, वुटवल हुदै भारतको सुनौली नाका सम्म सडक सञ्जाललाई जोड्ने छ । जैमनी नगरपालिकाका उपमेयर लिला रानाले भारतबाट आउने बागलुङ, पर्वत र म्याग्दीका बासिन्दाहरु सुनौली नारायणघाट पोखरा हँुदै घुमेर आउने झन्झटको अन्त्य भएको बताउनुभयो । कालीगण्डकी करिडोर संचालनमा आए संगै बागलुङको दक्षिण क्षेत्रको मुहारै फेरिएको जैमिनि नगरपालिका ५ का वडाअध्यक्ष गोपाल शर्माले बताउनुभयो ।