बेनी–जोमसोम सडकमा रातको समयमा यातायात सञ्चालन नगर्न समय थप



प्रताप बानियाँ म्याग्दी, भदौ २१ – हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको समय अवधि थप गरिएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा पहिरो खस्ने र खोलामा पानीको बहाव नघटेपछि यात्रुको सुरक्षाका लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।
यसअघि गएको साउनको पहिलो सातादेखि भदौ दोस्रो सातासम्म बेलुकी ५ः३० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधान सञ्चालनमा रोक लगाइएको थियो । अझै पनि बाढीपहिरोको जोखिम कायमै रहेको हुँदा उक्त सडकखण्डमा आगामी भदौ ३१ गतेसम्मका लागि पुनः सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले रातको समयमा सवारी नचलाउने समय अवधिलाई भदौ मसान्तसम्म थप गर्ने प्रस्तावमा सुरक्षा निकाय, यातायात व्यवसायीले सहमति जनाएका छन् । तोकिएको समयमा सवारीसाधन सञ्चालन गरेको पाइएमा कारवाही गरिने भएको छ । रातको समयमा सवारीसाधन सञ्चालन गर्दा मानवीय जोखिम बढेपछि समय अवधि तोकेर यातायात बन्द गर्ने निर्णयको सरोकारवाला निकायले स्वागत गरेका थिए ।
कुल ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङको तल्लो खण्ड जोखिमपूर्ण रहेको छ । अन्नपूर्ण गाउँपलिका–३ दानाको गुर्इंठेभीर, काभ्रेभीर र मुस्ताङको थासाङ गाउँपालिका–४ मा खसेको पहिरोका कारणले यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सडकखण्ड अन्र्तरगत पर्ने खोलामा पानीको सतह अझै घटेको छैन् ।
बेनी–जोमसोमको म्याग्दी क्षेत्रमा पर्ने धेरै ठाउँमा पहिरोले दुःख दिएको बेनी–जोामसोम सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । उहाँले म्याग्दी खण्डमा रघुगंगा गाउँपालिका–१ बेगखोला, अन्नपूर्ण गाउँपालिका–३ गुईठेभीर, घट्टेखोला र काभ्रेभीरमा खसेको पहिरो पन्छाउन निकै समस्या हुने गरेको बताउनुभयो ।
पटकपटक अबरुद्ध हुने बेनी–जोमसोम सडकखण्ड भएर मुस्ताङको कागबेनी श्राद्ध गर्न तथा प्रसिद्ध भुक्तिनाथ मन्दिर जाने हजारौं तीर्थयात्री, पर्यटक र सर्वसाधारणलाई समस्या हुने गरेको छ । यसैगरी सडक जोखिमयुक्त र अवरुद्ध हुनाले हिमाली जिल्ला मुस्ताङमा उत्पादित स्याउ ढुवानीमा समेत प्रत्यक्ष असर पुगेको व्यापारीहरुले बताएका छन् । गतवर्ष म्याग्दी खण्डको बेगखोलामा आएको बाढीले मानवबस्ती, बेलिब्रिज बगाए पनि सम्बन्धित निकायले खोलामा पक्की पूल बनाउनेतर्फ ध्यान नदिँदा सवारीसाधनका साथै पदैलयात्रीलाई सास्ती भएको स्थानीयबासिन्दाले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्