आचारसंहित उल्लंघन गर्दै राजनीतिक दलहरु



लक्ष्मी कुमार साह, महोत्तरी । महोत्तरीमा उम्मेदवारी दिन १ दिन मात्र बाँकी रहदा पनि प्रमुख राजनीतिक दलहरु नेपाली काँगेस, माओवादी केन्द्र, एमालेलगायत साना दलहरुले पनि निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेका छन् । महोत्तरीमा १० नगरपालिका र ५ गाउपालिकामा हुने १५ स्थानीय तहमा निर्वाचनमा भाग लिइरहेका अधिकांश राजनीतिक दलहरूले आचारसंहिता उल्लंघन गरिरहेका छन् ।

निर्वाचन कार्यालय अनुसार १४ भदौदेखि नै निर्वाचन आचारसंहिता लागे पनि महोत्तरीका अधिकांश दलहरु प्रायः सबैजसो सार्वजनिक स्थललगायत मठ, मन्दिर, पोल, भित्ताहरुमा ब्यानर, पोस्टर, झन्डा लगाई आचारसंहिता उल्लंघन गरिरहेका छन् ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका युवाहरुले पार्टीको चिह्न अंकित टिसर्ट लगाएर सार्वजनिक स्थलमा घुमि प्रचार–प्रसार गरिरहेका छन् भने नेकपा एमालेले सार्वजनिक स्थानहरुमा पार्टीको चिह्न अंकित झन्डा लगाएर मत माँगीरहेको छ ।

राजनीतिक दलहरुले जलेश्वरको शंकर चौक, दुर्गा चौक, बस स्टैन्ड, अस्पताल चौकको मुख्य सार्वजनिक स्थान, सरकारी कार्यालयको परिसरमा पार्टीका झन्डा र ब्यानर, चुनाव चिह्न अंकित झण्डा समेत लगाईएको छ भने राजनीतिक दलहरुले चुनावी आचारसंहिता उल्लंघन गर्दै प्रचारप्रसार समेत भड्किलो बनाइरहेका छन्। बर्दिवास नगरपालिका, रामगोपालपुर नगरपालिका, औरही नगरपालिका, सम्सी गाउँपालिका, जलेश्वर नगरपालिका र पिपरा गाउपालिकामा नेपाली काँग्रेस, एमाले, माओवादी, राजपा, फोरम लोकतान्त्रिक नेपाल, संघीय लोकतान्त्रिक फोरम नेपाल लगायतका दलहरुले सार्वजनिक स्थानहरुमा प्रचारप्रसार भड्किलो बनाउँदै गइरहेका छन्। निर्वाचन आयोगले राजनीतिक दललाई चुनावी चिह्न भएको टिसर्ट र झोला वितरण नगर्नु भन्ने आदेश जारी गरेको पश्चात पनि यसलाई लत्याउँदै अहिले जिल्लाका राजनीतिक दलहरुले चुनाव चिह्न भएको टिसर्ट लगाई आचारसंहितको उल्लंघन गर्दै हिँडेका छन्।

आचारसंहिता पालना गर्न निर्देशन
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत पिंकी रायले राजनीतिक दललाई चुनावी आचारसंहिता पालना गर्न निर्देशन दिएको बताईन् साथै सर्वदलीय बैठक बसेर यसबारे दलको ध्यानाकर्षण गराउँने छौ भनी बताईन ।
यता मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले आचारसंहिताविपरीत यसरी झन्डा राख्न नपाइने बताए । उनले आचारसंहिता उल्लंघन भए– नभएको अनुगमनका लागि अधिकृत खटाएको र आचारसंहिताविपरीतका काम रोक्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्