करोडौं रुपैयाको लागतमा निर्माण भएको झापाको बस पार्क अस्तब्यत



भद्रपुर(ने.स) । करोडौं रुपैयाको लागतमा निर्माण भएको झापा विर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्र भित्रपर्ने बस पार्क पछिल्लो समय अस्तब्यत रहेको पाइएको छ ।
स्थानीय सुदर्शन गिरीले आफ्ना स्वर्गीय पिता टेकबहादुर गिरीको स्मृतिमा उपलब्ध गराएको २ विगाहा ८ कठ्ठा जग्गामा रहेको वसपार्क कुरुप बन्दै गएको पाइएको हो ।
भारतसरकारको सहयोगमा बनेको बसपार्क क्षेत्रमा हाल खानेपानीको अभाव रहेको छ भने यात्रु प्रतिक्षालयमा बस काउन्टरहरु सञ्चालन भइरहेको पाइएको छ । अर्जुनधारा नगरपालिकामा परेको बसपार्क नगरपालिकाको मुख्य आर्कषण स्थल समेत मानिएको छ । हाल बसपार्क क्षेत्र र सो स्थानमा निर्मित भवनको रंगरोकन र उचित संरक्षणको अभावमा बसपार्क उजाड र कुरुप बनेको देखदा आम सबै झापाली हरुमा निरासा छाएको छ । दाताले दिएको ठाउँमा दाताको ईच्छा अनुरुप दिर्घकालिन रुपमा उच्च व्यस्थापनमा बसपार्क संचालन नहुदा दाता परिवारको सम्मान समेत हुन सकेको छैन ।
ट्राफिक एक्लैले यसको उचित समाधान निकाल्न नसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रमुख ढुण्डीराज गिरीले बताए । राजनीतिक दल, नगरपालिका, प्रशासन सबैले पहल गरेमा पूर्वको नमूना बसपार्क बनाउन सकिने उनको भनाइ छ । बिर्तामोड नगरपालिका घोषणा भएको ३ बर्ष बिति सक्दा समेत यस क्षेत्रको खासै परिवर्तन आउन नसकेको यात्रुहरुको भनाइ छ । बिर्तामोड नगरपालिकाको नामले परिचित भईरहदा दैनिक हजारौ यात्रु, पर्यटक बसपार्क आईपुग्दा नाकखुम्चाउनु पर्ने अवस्था सजृना भई रहेको यातायात ब्यवसायी अम्बर राईले बताए ।
बसपार्क भनीए पनि अधिकांश बसहरु प्रवेश नगरेको भन्दै ब्यसायीहरुले आपत्ति जनाएका छन् । यात्रुप्रतिक्षालयमा काउन्टर खोल्ने तथा खानेपानी भएको स्थानलाई भत्काएर ब्यवसाय सञ्चालन गर्ने, जथाभावि रुपमा खोलीएका घुम्ती काउन्टर तथा सिटी चालकले कमिशनमा यात्रु ओसार्ने लगायतका कारण बसर्पाकमा सबै क्षेत्रमा विकृति फैलिएको ब्यवसायी एवम् काउन्टर कर्मचारी दिपक रम्तेलले बताए ।
बसर्पाकको आम्दानी लिन तछाडमछाड गर्ने अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले भने विकासमा खासै चासो नदिएको पाइएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले बसर्पाकको आन्दानी ६०÷४० बाड्ने विषयमा कुरा भएको बताए ।
उनले बसर्पाकको अवस्थाको विषयमा आफु जानकार रहेको भन्दै विर्तामोड नगरपालिकासंग सहकार्य गरेर अघि बड्ने बताए । उनले दशैं अघि नै बसपार्कको सुधारको प्रयास थालिने प्रतिबद्धता जनाएका छन् ।
यता विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले विर्तामोड र अर्जुनधार दुवैले यो विषयमा चासो दिएर खानेपानी, बिजुली लगायत विभिन्न पूर्वाधारको विकासका लागी पहल गर्ने उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्