‘उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्ने संकेत’


 

सोल, (एजेन्सी)
दक्षिण कोरियाले सम्भवतः एउटा अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रलगायत उत्तर कोरियाले अन्य थुप्रै क्षेप्यास्त्र प्रक्षेपण गर्ने तयारी गरिरहेको जनाएको छ।
साथै सोलले केही दिनअघि उत्तरले हाइड्रोजन बमको परीक्षण गरेपछि आफूले विवादास्पद अमेरिकामा निर्मित थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई सशक्त बनाइरहेको पनि दाबी गरेको छ।

उत्तरको हाइड्रोजन बम परीक्षणको जवाफमा दक्षिण कोरियाले प्रत्याक्रमण सैनिक अभ्यास गरेको छ। यसैबीच अमेरिकाले आफू र आफ्नो गठबन्धनलाई उत्तरबाट कुनै खतरा महसुस भएको खण्डमा बृहत् सैनिक प्रतिक्रिया दिइने चेतावनी दिएको छ।

उत्तरले आफूले परीक्षण गरेको हाइड्रोजन बमलाई लामो दूरीको क्षेप्यास्त्रमा प्रयोग गर्न सकिने दाबी गरेको थियो। प्योङयाङले पटकपटक अन्तर्राष्ट्रिय जगतको दबाब र संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को नाकाबन्दीको बेवास्ता गर्दै आणविक हतियार विकास र क्षेप्यास्त्र परीक्षण कार्य जारी राखेको छ।
विगत दुई महिनाभित्र मात्र उत्तर कोरियाले दुईवटा अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। एउटा क्षेप्यास्त्र त जापानको भूभाग हुँदै प्रशान्त महासागरमा खसेको थियो। दक्षिण कोरियाली रक्षा मन्त्रालयका अधिकारी चांग क्युंग–सूले सोमबार संसद्लाई उत्तरले थप क्षेप्यास्त्र परीक्षण गर्ने सक्ने संकेत मिलेको जानकारी गराएका थिए।