कलकल बगिरहने रुकुमको गहना ‘तातोपानी’ संरक्षणको पखाईमा



धनवीर दाहाल, रुकुम ।
यो बर्षातको समयमा पनि हिउँद महिनाको जस्तो सफा पानी बगिरहन्छ । झट्ट हेर्दा साह्रै चिसो जस्तो लाग्ने पानी छुन बित्तिकै पोल्ने गर्दछ । तपाईलाई बिश्वास नलाग्न सक्छ तर यो सत्य हो । रुकुमको सिस्ने गाँउपालिका वडा नं ४ मा परापुर्वकालदेखी तातोपानी कलकल बगिरहेको छ ।

पुर्वी रुकुमको सिस्ने गाँउपालिका ४ पोखराकी जय कुमारी केसीलाई यतिबेला आफ््नो ठाँउमा रहेको तातोपानीको मुहान पुरिने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । रुकुमको गहनाको रुपमा रहेको तातोपानी मुहान क्षेत्र सानीभेरी नदीको बहावले कारण पुरिन सक्ने भन्दै जयकुमारीले संरक्षणका लागी पटक पटक सरोकारवालालाई अनुरोध गरिसकेको बताउँछिन् । उनी मात्र होइन यतिबेला पोखराबासी आफ्नो ठाँउमा रहेको तातोपानीको मुहान पुरिन सक्ने खतरा रहेकोले संरक्षणका लागी जोडदार माग गरिरहेका छन् ।

यतिबेदा सानीभेरी नदीको छेउमा रहेको ऐतिहासिक तातोपानी क्षेत्र ओझलमा पर्न थालेको छ । परापूर्वकालदेखि नै प्रसिद्ध तातोपानीको नामले चिनिएको उक्त स्थानको उचित संरक्षण र कुनै व्यवस्थापन नहुँदा नदी बगरको माटोले पुरिने अवस्थामा पुगेको छ । सानोभेरी नदि छेउको किनारमै रहेको पूर्वी रुकुमको पोखरामा अवस्थित तातोपानी क्षेत्रलाई आन्तकि र बाह्य पर्यटनका लागि एक ऐतिहासिक स्थानका रुपमा लिने गरिन्छ ।

तर पछिल्लो समय तातेपानी क्षेत्र संरक्षणका लागि कुनै विशेष अभियान नचलाईंदा तातोपानी को मुहान पुरिएर जाने अवस्थामा रहेको छ । प्राकृतिक रुपमा आफै उत्पत्ति भएको तातो पानी पिउने र नुहाउने गर्नाले विभिन्न रोगहरु समेत निको हुने विश्वासले वर्षेणी तातो पानी क्षेत्रमा देश विदेशबाट पर्यटकहरु आउने गर्दछन् ।

वर्खा सुरु भएपछि दुई महिनाजति सानोभेरी नदिको बहावले तातोपानीको केही भाग पुरिने भएकोले कतै तातोपानी नै नरहने हो की भन्ने चिन्ताले आफुहरुलाई पिरोल्ने गरेको स्थानीय रामचन्द्र खड्काले बताए । नदिको बहाव बढ्दा कम हुने र बहाव घढ्दा बढ्दै जाने तातोपानीको मुहान नेपालकै सन्र्दभमा संरक्षण गर्न आवश्यक रहेकोेले आम्दानीको स्रोत बन्न सक्ने खड्काको भनाई छ । दुई वर्ष अघि तातोपानी संरक्षणका लागि तत्कालिन जिल्ला विकास समिति रुकुमको सामान्य आर्थिक सहयोगमा तटबन्ध निर्माण गरेर कुवा र धारा निर्माण गरिएको थियो ।

तर त्यो सबै बालुवामा पानी खनाए जस्तै भएकाले हाल तातो पानी क्षेत्रबगरमा परिणत भएको छ । धार्मिक मान्यता सहित पर्यटकिय इतिहास बनाएको तातोपानी मूल संरक्षणका लागि भन्दै यस पटक भने सिस्ने गाउँपालिकाले थोरै बजेट विनियोजन गरेको सिस्ने गाँउपालिकाकी अध्यक्ष कुमारी बरालले बताइन् । यसअघि रुकुम जिल्ला एउटै हुँदा समग्र जिल्लाको पहिचान बनाएको पोखराको तातोपानी क्षेत्रलाई रुकुमकै ऐतिहासिक स्थलको रुपमालिने गरिन्थ्यो ।

स्थानीयबासीले बेलाबखत सरोकारवाला निकायलाई संरक्षणका लागि सहयोग गर्न आग्रह गर्दा पनि त्यस तर्फ भने सबै बेखबर बनेका छन् । पर्यटनको लागी प्रशस्त संभावना बोकेको तातोपानी संरक्षणको लागी पहल गर्न जरुरी देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्