दुब्ला–पातलाको आन्दोलन

0
Shares

 

दशैंमा यात्रुबाहक बसमा यात्रा गर्ने यात्रुले २० किलोभन्दा बढी तौलको वस्तु बोक्न नपाउने निर्णय यातायात व्यवस्था विभाग र व्यवसायीको संयुक्त बैठकले शुक्रबार गरेको धरहराले पाएको छ।

२० किलोसम्म तौलको सामान मात्रै लान पाइने व्यवस्था भयो र सोभन्दा बढी तौलको वस्तु लैजानुपरे कुरियर वा मालवाहक सवारी वा अन्य व्यवस्थाबाट व्यवस्था गर्न स्वयम् विभागले भन्यो। अब कुरा आउँछ दुब्लो र मोटो मान्छेको। दुब्लो २५⁄३० किलो तौलको मान्छेले पनि २० किलोसम्म सामान लग्न पाउने, ८५⁄९० किलो तौल भएको मान्छेले पनि २० किलोमात्रै सामान लान पाउने भएपछि यहाँ अन्याय भएको धरहराको ठहर छ।

कि त यस्तो व्यवस्था नगर्नुपर्ने, गरिहालेपछि दुब्ला–पातला मान्छेलाई मर्कामा पार्ने गरी नगर्नुपर्ने। गाडीमा भार सबै मान्छेको एकनास हुँदैन त्यस कारण दुब्ला–पातला मान्छेले आफ्नो तौलबमोजिम हिसाबकिताब गरेर सामान लान पाउनुपर्यो। होइन भने सबै पीडित दुब्ला–पातलाले संगठन बनाएर आफ्नो अधिकार स्थापित गराउन आन्दोलन गरे भने धरहरा जवाफदेही नहुने जानकारीका लागि अनुरोध छ।