कालै हो कि अलि अलि मात्रै


 

विद्युत् प्राधिकरणका कर्मचारीले कहिले के गरिदिएनन्, कहिले वास्तै गरेनन् वा कहिले घूस मागे भनेको धरहराले सुन्दै आएको हो। किन त्यसो भयो भन्ने कुरामा सबैभन्दा बढी जानकार त कि ती कर्मचारी नै हुन् कि त भुक्तभोगी ग्राहक नै। उनीहरूको चालढाल हेर्दा दालमा ‘कुछ’ कालो छ भन्ने धेरैले पहिला नै नसोचेका पनि होइनन्। अझ कतिले दालमा ‘कुछ’ मात्रै होइन पूरै दाल कालो छ समेत भन्ने गरेका हुन्।

तर, अब भने सरकारले एउटा काइदाको तयारी गरेको धरहराले चाल पाएको छ। नो लाइटका कर्मचारी वा कसैले ग्राहकलाई उपयुक्त सेवा उपयुक्त समयमा दिएनन् भने ग्राहकले फ्याट्टै ११५१ नम्बरमा डायल गरे हुने भएको छ। पैसा नलाग्ने त्यो नम्बरमा फोन गर्ने अनि गुनासो बिसाउने। के के हो उजुरी सबै त्यहाँ गरेपछि कर्मचारीहरू ठामका ठाम कारबाहीमा पर्ने छाँटकाँट देखिएको ऊर्जा मन्त्रालयतिर धरहराले हिजो दूरबीन घुमाउँदा थाहा पायो। प्राधिकरणका कर्मचारीले दुःख दिए, गुनासो सम्बोधन गरेनन् वा कुनै सेवा दिँदा घूस मागे भने अप्ठेरो पर्ने संकेत देखिएको छ।

ल है नानीदेखि लागेको बानी को सच्यारहन्छ भनेर पुरानै पारा देखाउनुभयो भने ‘मामाघर’ जानुपर्ने अवस्था पो सिर्जना होला जस्तो छ। जे गर्नुभयो गर्नुभयो अहिलेसम्मका लागि ग्राहकबाट माफी नै होला। तर, अब चाहिँ माफी नहोला जस्तो छ है। सतर्क रहनुस् नि। होइन त पाठकवृन्द ?