दुई वडालाई ५८ लाखको डिप ट्युबवेल

0
Shares

हेटौंडा,(नेस) । हेटौंडा खानेपानी बोर्डले हेटौैंडा–४ र ५ लाई लक्षित गरी ५८ लाख रुपियाँ लागतमा डिप ट्युबवेल सञ्चालनमा ल्याएको छ । डेढ वर्षअघि पिप्लेमा निर्माण गरिएको डिप ट्युबवेलको पानीमा समस्या आएपछि बोर्डले गर्दोइस्थित लक्ष्मी आधारभूत विद्यालयसँगै डिप ट्युबवेल सञ्चालनमा ल्याएको हो ।

हेटौंडा ४ र ५ का वडा अध्यक्ष क्रमशः नवीन सिग्देल र राजेश बानियाँले संयुक्तरुपमा उक्त संरचनाको उद्घाटन गरेका हुन् । २०७३ मंसिर १६ गते निर्माण सुरु भएकोमा डिप ट्युबवेल, पालेघर निर्माण, मेन ट्रान्समिसन पाइपलाइन विस्तार, विद्युत् लाइन जडान कार्य गरी ५८ लाख रुपियाँ लागतमा निमांण सम्पन्न भएको बोर्ड अध्यक्ष प्रताप बिष्टले बताए ।

नयाँ डिप ट्युबवेल सञ्चालनपश्चात् पिप्ले, बानियाँटोल, चिसापानी र गर्दोइ क्षेत्रमा दैनिक ६ देखि ७ लाख लिटर पानी थप बितरण हुने बोर्डले जनाएको छ । बोर्डले खानेपानी व्यवस्थापन सम्हालेपश्चात् दैनिक ५७ लाख लिटर पानी उत्पादन वृद्धि गर्न सफल भएको बोर्डका निमित्त कार्यकारी अधिकृत सुदर्शन ढकालले जानकारी दिए ।

बोर्डले नयाँ र पुरानो गरी १२ स्थानबाट १९ वटा पम्प र २ वटा सतहगत स्रोत सञ्चालनमा ल्याएर दैनिक १ करोड २७ लाख लिटर पानी बितरण गर्दै आएको छ । सेवा क्षेत्रभित्र १३ हजार १ सय ३१ धाराबाट दैनिक ६ देखि ७ घण्टा पानी बितरण गर्दे आएको बोर्डले जनाएको छ ।