काठेपुलले भएपनि सदरमुकामसँग जोड्यो स्थानीयलाई

0
Shares

धनवीर दाहाल, रुकुम । मुसिकोट नगरपालिकाका मनबहादुर खड्का बर्षातको समयमा आफ्नो घरबाट सदरमुकाम जानुपर्दा कहिलै पनि एक्लै निस्कीएनन् । उनलाई सदरमुकाम जानका लागी कुनै न कुनै साथी अनिवार्य चाहिन्थ्यो । साथी चाहिनु उनका लागी कुनै बाघ भालुको डर या कुनै चोरी डकैतीको डर नभएर खोला तर्नका लागी साथी अनिबार्य चाहिन्थ्यो ।

उनी मात्र होइन बर्षातको समयमा लहुँ खोला बढेर वारवार गर्न कठिन हुने भएकोले जोखिम मोलेर स्थानीयहरु खोलामा दुई तिन जना सँगै भएर पस्ने गर्दथे । लहुँका स्थानीयलाई यो बाध्यतानै थियो । उनी मात्र होइन स्थानीय बिरबहादुर के.सी पनि निकै जोखिम मोलेर वारवार गर्दथे । स्थानीयले झोलुंगे पुलको माग गरेपनि तत्काललाई काठेपुलको निमार्ण भएको छ । सो क्षेत्रमा तिन वटा काठेपुल निमार्ण भएका हुन् । काइयो खोला, बैरागी ठाटि र लहुँ खोलामा पुल निर्माण गरिएको हो ।

पुल निर्माण भएपछि वर्खामा यात्रुहरुको आवत जावतमा सहज भएको स्थानीयहरुको भनाई छ । ‘जंघार तर्न अरु मान्छे कुर्नु पथ्र्याे’ स्थानीय मनवहादुर खड्काले भने, ‘अहिले त्यस्तो पर्दैन् ।’ पुल तरेर समयमै गन्तव्यमा पुगिन्छ उनले भने । काइयो खोला ५० हजार, लहुँ खोला ३० हजार र वैरागी ठाटी खोलामा ३० हजारको लागतमा पुल निर्माण गरिएको वडा सचिव कृष्णवहादुर खत्रीले जानकारी दिए ।

यहाँका वासिन्दाहरुको आवतजावतमा सहजता ल्याउन काठे पुल निर्माण गरिएको उनको भनाई छ । तत्कालका लागि काठेपुल निर्माण गरिएपनि दिर्घकालिन रुपमा पक्की पुल निर्माण गर्नु पर्ने स्थानीयहरुको सुझाव छ ।

‘अन्य समयमा सहज भएपनि वर्खामा पुल नहुँदा निकै समस्या हुने गरेको थियो’ स्थानीय वीरवहादुर केसीले भने, ‘पुल निर्माण भएपछि सहज भएको छ ।’ ‘वर्खामा ठूलो खोला आउँदा स्थानीयहरुलाई खोला तर्न निकै कठिन थियो’ वडा अध्यक्ष प्रेमवहादुर ओलीले भने, ‘अहिले सहज भएको छ ।’ विद्यार्थी, वालवालिका र बृद्धबृद्धाहरु बढि लाभान्वित भएका छन् ।