घर सम्झी आँसु बरर


 

पीपलमाथि पिलपिल तारा पूर्वी डाँडामा
मिर्मिरेमा गाउँघर छाडेँ मनै काँडामा
अल्झेसरि मुटु मेरो काँडा कोपेझैँ चरर
आज परदेशमा घर सम्झी आँसु बरर
श्रावण झरी रुँदै आयो फेरि मलाई डाकी
घर फर्की जाऊँ भने नि तीनै वर्ष बाँकी
बर्खा त्यो झुप्रो घर बलेसीमा पानी धरर
आज परदेशमा घर सम्झी आँसु बरर
घामको झुल्कोसँगै हाँस्ने हिमालय हाम्रो रे
पराईको देशमा छैन आफ्नै छाया राम्रो रे
आफ्नै देशमा पोख्न मन छ पसिना हरर
आज परदेशमा घर सम्झी आँसु बरर
नौ जवानले मुलुक छाडे धमिराको राज
देश लुट्ने पाउँछन् अरे जय–जय ताज
गाउँ र शहर छैनन् कोही दुखियाको माझ
शान्ति डाक्छिन् बूढी आमा मुटु पारी थरर
आज परदेशमा घर सम्झी आँसु बरर
मालिनीले संसार डुली शान्ति, कान्ति बोली
तलतल अन्धकारलाई सुनको पर्दा खोली
सगरमाथा चुचुरोमा चन्द्र–सूर्य फरर
आज परदेशमा घर सम्झी आँसु बरर
–अनिल नेपाली
गोकुलगंगा गाउँपालिका–५, रामेछाप