घलेम्दीखोला जलविद्युत्को आयोजनाको सुरुङ निर्माण सकियो


प्रताप बानियाँ, म्याग्दी

निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागिएको घलेम्दीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भएको छ। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको सुरूङको निर्माण सम्पन्न गरिएको हो।

आयोजनाको दुवैतर्फबाट करिब १७ सय मिटर सुरुङ आइतबारमात्रै जोडिएको छ। गृह जिल्ला म्याग्दी भएकाहरूको सक्रियतामा शुरू गरिएको जलविद्युत् आयोजनामा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले सुरुङमार्गमा ब्लास्टिङ गर्न विष्फोटका लागि तयार गरिएको विद्युत्को स्वीच अन गर्नुभएको थियो। अन्तिमपटकको ब्लास्टिङका लागि तयार पारिएको विद्युतीय स्वीच अन गरेपछि पड्किएको ब्लास्टिङबाट दुवै तर्फको सुरूङ खोलिएपछि जोडिएको थियो।

आयोजनाको महत्वपूर्ण काम मानिएको सुरूङ निर्माणको अवलोकन गर्न म्याग्दी जिल्लाका साथै काठमाडौं, भक्तपुरलगायत ठाउँका लगानीकर्ताहरूको समेत उपस्थिति रहेको थियो। वर्षाको समयमा विना अवरोध निर्माणकार्य धमाधम भइरहेको घलेम्दीखोला जलविद्युत् आयोजनाको इन्टेकको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। हालसम्मआयोजनाको कुल ७५ प्रतिशत काम सकिएको घलेम्दी हाइड्रो लिमिटेडका कार्यकारी अध्यक्ष किशोर सुवेदीले बताउनुभयो। उहाँका अनुसार सुरुङ र बालुवा थिग्राउने पोखरी निर्माण सम्पन्न भइसकेको छ ।

यसैगरी उक्त आयोजनाको पानी फर्काउने बाँध तथा ड्याम निर्माण, पेनस्टक पाइप राख्ने कामको आधा निर्माण, डिसेन्डर बेसिन, नहर निर्माण लगायतका कामहरूलाई तीव्रता दिइएको छ। सुरुङमार्गको दुवैतर्फ जोडिए पनि आगामी तीन महिना फिनिसिङको काम सकेर आउँदो चैत मसान्तसम्ममा विद्युतके परीक्षण उत्पादन शुरू गर्ने तयारी भइरहेको अध्यक्ष सुवेदीको भनाइ छ।

आयोजनाको पावरहाउसको निर्माण कार्य समेत शुरू गरिएको छ। सुरूङ मार्गदेखि पावरहाउससम्मको पेनस्टकका लागि पाइप समेत ढुवानीको तयारी भइरहेको छ। निलगिरी खोलाको नजिक रहेको पावरहाउसमा खोलाले कटान गर्न सक्ने सम्भावनालाई मध्यनजर गरेर पक्की रिटेनिङ वाल लगाइएको घलेम्दीखोला जलविद्युत् आयोजनाका कम्पनी सचिव बिमल रिजालले जानकारी दिनुभएको छ।

सडकमार्गको अभावमा मजदुर र खच्चडबाट सामान ढुवानी गरी नाकाबन्दीको समयमा पनि काम गरिएको हुँदा निर्धारित समयमै आयोजना सम्पन्न गर्ने तयारी रहेको आयोजनाका पक्षधरको भनाइ छ। आयोजनाले संस्थापक शेयर बन्द गरेर निकट भविष्यमा १६ करोड ५० लाखको साधारण शेयर जारी गर्ने तयारी गरेको छ।

घलेम्दीखोलाको दोभानबाट १७ सय मिटर सुरुङ मार्गबाट पानी ल्याएर निलगिरि खोलाको किनारमा निर्माण हुने पावरहाउसमा खसालिने जनाइएको छ। आयोजनाबाट प्राधिकरणले वार्षिक साढे १३ करोड रुपियाँ बराबरको विद्युत् खरिद बिक्री गर्ने जसमा वर्षायाममा ४ रुपियाँ ८० पैसा र हिउँदमा ८ रुपियाँ ४० पैसामा प्रतियुनिट विद्युत् खरिद बिक्री गर्ने सम्झौतामा उल्लेख गरिएको छ।

यसैबीच आयोजनाको ४ मेगावाटबाट क्षमताअनुसार १ मेगावाट थप गरी ५ मेगावाट भएसँगै विद्युत खरिद बिक्री सम्झौता भएको बताइएको छ। आयोजनामा ३८ करोड ५० लाख संस्थापक शेयर रहेको छ।