सडकमा नाच्ने किशोर पक्राउ


 

रियाद, (एजेन्सी)

सउदी अरेबियामा एक १४ वर्षीय किशोरलाई
सडकमा डान्स गरेको आरोपमा गिरफ्तार गरिएको छ। इस्लामिक सरियत कानुनमा चलेको सउदी अरेबियामा सार्वजनिक स्थलमा मनोरन्जन गर्नु बर्जित छ।

ती किशोरको भिडियो भाइरल भएपछि सउदी प्रशासनले उक्त कारवाही गरेको हो। एक विज्ञप्तीमा ‘अनुचित सार्वजनिक ब्यवहार’को आरोपपछि किशोरलाई सोधपुछ गरिएको उल्लेख गरेको छ।

अहिलेसम्म किशोरको नागरिकताका बारेमा थाहा हुन सकेको छैन। ऊविरुद्ध मुद्दा चल्ने हो वा होइन भन्ने विषयमा पनि प्रष्ट हुन सकेको छैन। ४५ सेकेन्डको क्लिपमा किशोर सडकमा गाडी अगाडि १९९० को हिट गाना ‘माकारेना’ मा नाच्दै गरेको देखिएका थिए। उक्त क्लिप सन् २०१६ जुलाइमा पहिलोपटक पोस्ट गरिएको मानिएको छ।

यसै महिनाको शुरूवातमा सउदी अरेबियाको दक्षिण पश्चिममा एक कन्सर्टका क्रममा गायकलाई नाचेको आरोमा गिरफ्तार गरिएको थियो।

केहीले सामाजिक सञ्जालमा ती किशोरलाई हिरोको संज्ञा दिँदै समर्थन गरेका छ। उक्त घटना देशको पश्चिमी भाग जेद्दाको व्यस्त सडकको बताइएको छ। केहीले भने किशोरको व्यवहारलाई अनैतिक भएको बताउँदै आलोचना गरेका छन्।