दिल्लीमा देउवा


 

टीका बन्धन, काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार दिउँसो दिल्ली पुगेलगत्तै उच्चस्तरीय भेटवार्तामा व्यस्त बन्नुभएको छ। देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग पूर्वनिर्धारित कार्यतालिकाभन्दा एक दिनअघि बुधबारसाँझ भेटवार्ता गर्नुभएको छ।

अनौपचारिक रूपमा भएको सो वार्तामा देउवा र मोदी मात्रै सहभागी हुनुभएकाले विस्तृत कुरा सार्वजनिक गरिएको छैन। बुधबारको भेटवार्तापछि मोदीले सामाजिक सञ्जालमा आफूले निकट छिमेकी नेपालका प्रधानमन्त्री देउवालाई स्वागत गरेको र विस्तृत भेटवार्ता आज बिहीबार हुने र सो भेटवार्ताको प्रतीक्षामा रहेको बताउनुभएको छ। दुवै प्रधानमन्त्रीबीच आज बिहीबार बिहान विस्तृत र औपचारिक भेटवार्ताको कार्यतालिका तय गरिएको छ। हिजोको भेटवार्ता भारतीय प्रधानमन्त्री निवासमा भएको थियो।

आजको भेटवार्तामा दुवै प्रधानमन्त्रीसहित दुवै मुलुकका उच्च अधिकारी सहभागी हुनेछन्। सोही क्रममा करिब आधा घण्टा देउवा र मोदीबीचमा ‘वान टु वान’ वार्ता हुने बताइएको छ। द्विपक्षीय भेटवार्ताका क्रममा विद्युत्, भौतिक पूर्वाधार, कृषि, संस्कृतिलगायतका विषयमा सहमति र सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसै गरी भारतले दिने भूकम्पपछिको पुनर्निर्माणको सहयोग र सम्पदा निर्माणबारेको सम्झौता पनि हुने बताइएको छ।

परराष्ट्र स्रोतका अनुसार दुवै मुलुकका उत्पादनलाई गुणस्तर चिह्न प्राप्त गर्ने र प्रयोगमा मान्यता दिनेसम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर हुँदै छ। तराईको डुवान समस्या र यसअघि विभिन्न समयमा दुवैतर्फबाट भएका सहमति र सम्झौतालाई कार्यान्वयन गर्नेबारेमा पनि द्विपक्षीय छलफल हुँदै छ।

छलफलका लागि नेपालले पञ्चेश्वर परियोजना, सीमा क्षेत्रमा एकीकृत जाँच चौकी, दुई देशीय प्रसारण लाइन, सीमा क्षेत्रहरूमा सुख्खा बन्दरगाह निर्माण, सुदूरपश्चिममा बनाउने भनिएको पोलिटेक्निकल इन्स्टिच्युटलगायतको सूची तयार गरेको छ।

बिहीबार दिउँसो प्रधानमन्त्री देउवा र मोदीले संयुक्तरूपमा कुशाहा–कटैया १ सय ३२ केभी नयाँ प्रसारण लाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। दुवै देशका प्रधानमन्त्रीले अपराह्न २ बजे ‘रिमोट’ थिचेर प्रसारण लाइन उद्घाटन गर्दै हुनुहुन्छ।

बुधबार अपराह्न दिल्लीस्थित नेपाली दूतावासमा भेला भएका नेपाली समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्वदेश फर्किएर मुलुकको विकासमा सघाउन आग्रह गर्नुभएको छ। उच्च शिक्षाका क्रममा भारतमा रहेका नेपालीलाई लक्षित गर्दै देउवाले भन्नुभयो– ‘उच्च शिक्षा र ज्ञान आर्जन गरेपछि नेपाल फर्किनुस् देशलाई तपाईंहरूको सेवा र ज्ञानको आवश्यकता छ।’ नेपाल–भारतको सम्बन्धलाई थप सुमधुर र विकसित गर्न भारतमा रहेका प्रवासी नेपालीले महत्त्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताउनुभयो।

सो जमघटमा भेला भएका नेपालीले स्वदेश फर्कने क्रममा सीमा क्षेत्रमा आफूहरूले भोग्दै आएको समस्या र भारतीय सुरक्षा बलले नेपालीमाथि गर्दै आएको ज्यादतीका बारेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए। नेपाली जनसम्पर्क समिति भारत, प्रवासी नेपाली संघ, अखिल भारत नेपाली एकता समाजले त्यस्ता समस्या अवगत गराएका थिए।

विद्यार्थीहरूले आफूले भोग्दै आएका व्यावहारिक कठिनाइका बारेमा अवगत गराएका थिए। प्रधानमन्त्री देउवा बुधबार साँझ दिल्लीको होटल ताजमा भारतीय चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममासमेत सहभागी हुनुभएको थियो।

दुवै मुलुकका व्यवसायी संलग्न अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नेपालमा वातावरण बनेको बताउँदै लगानी भित्त्याउन भारतीय व्यवसायीहरूलाई आग्रह गर्नुभएको थियो।

देउवा आज बिहीबार दिनभर उच्चस्तरीय राजनीतिक भेटवार्तामा सहभागी हुने कार्यक्रम तय गरिएको छ। उहाँले समकक्षी मोदीसहित भारतीय राष्ट्रपति रामनाथ कोविन्द, विदेश मन्त्री सुष्मा स्वराजसहितका मन्त्रीहरूसँग छुटाछुट्टै भेटवार्ता गर्दै हुनुहुन्छ। उहाँले तिरुपति, बोधगयालगायतका धार्मिकस्थलको पनि भ्रमण गर्ने कार्यक्रम छ।