सुदूरपश्चिममा १ लाख बढी मतदाता थपिए

0
Shares

विमल विष्ट,डोटी
स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिममा अर्थात प्रदेश नं ७ मा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

गत साउन १ गतेदेखि फोटो सहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका नौ वटै जिल्लामा गरी कुल एक लाख १५ हजार ३२ जना नयाँ मतदाता थपिएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

निर्वाचन आयोगले शुरुवातमा साउन पहिलो सातादेखि मसान्तसम्म नयाँ मतदाता नामावली संकलन गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो ।

केही दिनअघि पुनः भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन कार्यका लागि समय दिइएको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुर जिल्लामा नयाँ मतदाता थपिएको छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका सूचना अधिकृत प्रेमराज भट्टले बताउनु भयो । जिल्ला निर्वाचन कार्यालय डोटीका अनुसार गएको एक महिनामा डोटीमा पाँच हजार ८ सय मतदाता थपिएका छन् ।

९ वटा तह रहेको डोटीमा पनि स्थानीय तहसम्म नयाँ मतदाताको नामावली संकलन कार्य भइरहेको छ । डोटीमा यस अघि एक लाख चार हजारभन्दा बढी मतदाता रहेका थिए ।