प्रम भोलि भारत जाने, बाँध र विद्युत्को कुरा उठ्दै

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा सप्तकोशी ब्यारेज, लक्ष्मणपुर बाँध, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका बारेमा भारतीय पक्षसँग छलफल हुने भएको छ। कोशी र लक्ष्मणपुर बाँधले पुर्याएको क्षतिबारे द्विपक्षीय छलफल गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

कोशी बाँध निर्माणका क्रममा भारतले स्थानीय जनतालाई दिन प्रतिबद्धता जनाएको रकम हालसम्म उपलब्ध नगराएका बारेमा प्रधानमन्त्री देउवाले भारतीय पक्षको ध्यानाकर्षण गराउने बताइएको छ। कोशी बाँध बनाउँदा स्थानीय जनतालाई राहतस्वरूप दिने भनेको ५० करोड रुपियाँ भारतले नदिएका बारेमा अहिलेको भ्रमणको क्रममा छलफल हुने सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताउनुभयो। भूकम्पपछिको दाता सम्मेलनका क्रममा भारतले सहयोगका लागि प्रतिबद्धता जनाएको रकम प्राप्त हुन नसकेका बारेमा पनि छलफल हुने बताइएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन गर्दै यस्तो निर्णय गरेको हो। देउवा भोलि बुधबार ५ दिने औपचारिक भारत भ्रमणमा जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा सीमावर्ती क्षेत्रमा बढेको डुबान र स्थानीय बासिन्दाले भोग्दै आएका समस्या बारेमा छलफल हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

त्यसैगरी सन् १९५० को शान्ति तथा मैत्री सन्धि, भारतीय सहयोगमा नेपालतर्फ विस्तार हुने रेलवे सञ्जाल, व्यापार⁄वाणिज्य छलफलका मुख्य एजेन्डा रहने ती अधिकारीले प्रस्टइए। ‘नयाँ एजेन्डाभन्दा पनि विगतमा भएका सहमति कार्यान्वयनमा अहिलेको भ्रमण केन्द्रित हुँदै छ।’ –उनले भने।

यद्यपि मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले भने द्विपक्षीय हितका सम्बन्धमा कुनै नयाँ सम्झौता गर्ने गरी गृहकार्य अघि बढेको बताउनुभयो।

सो सम्झौता केकस्तो विषयमा हुने भन्नेबारेमा टुङ्गो लाग्न बाँकी रहेको उहाँले बताउनुभयो।

यसैबीच मन्त्रिपरिषद्ले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सह–सचिव रेश्मीराज पाण्डे र राष्ट्रिय योजना आयोगका सह–सचिव लालशंकर अधिकारीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। पाण्डेलाई नयाँ जिम्मेवारी नतोकिए पनि अधिकारीलाई आयोगमा कामु सचिवको जिम्मेवारी तोकिएको छ।