एकै चरणमा निर्वाचनः मंसिर १० गते प्रदेश र प्रतिनिधिसभाको चुनाव


नेपाल समाचारपत्र, काठमाडौं । सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव एकै चरणमा मंसिर १० गते गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र सभाको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको हो । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतका अनुसार मन्त्रिपरिषद्ले प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणमा भूकम्पपछि पुनःनिर्माण प्राधिकरणलाई आर्थिक सहयोग गर्ने भनी भारतले गरेको प्रतिबद्धता, पुराना सन्धि सम्झौता, लक्षणपुर बाँध, कोशी बाँध र त्यसबाट भएको नोक्सानीका बारेमा छलफल गर्ने निर्णय गरेको छ ।

कोशी बाँध बगाउँदा स्थानीय जनतालाई भारत सरकारले दिने भनेको रु ५० करोड अहिलेसम्म नदिएको हुँदा त्यसबारे समेत भ्रमणमा छलफल हुने बताइएको छ ।

पञ्चेश्वर जलविद्युत् आयोजना, वाणिज्य व्यापार, सन् १९५० को सन्धि, नेपाल–भारत रेल्वेलगायतका बारेमा पनि भ्रमणमा छलफल हुने बताइएको छ ।

 

निर्वाचन आयोगले भने निर्वाचनको तयारी पुरा गर्न अप्ठ्यारो हुने भन्दै दुई चरणमा चुनाव गर्न आग्रह गरेको थियो । आयोगले मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो ।