बन्गाड कुपिण्डे नगरपालिका सवै वडा सचिव विहिन, सेवाग्राही मारमा


सरिता चलाउने, सल्यान ।   सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाका १२ वटै वडामा सचिव बिहिन हुँदा सेवाग्राही मारमा परेका छन् । स्थानीय तहको निर्वाचन पश्चात सचिवहरु सरुवा भएर गएको र  नयाँ सचिव नआउदा नगरपालिकाका १२ वटै वडा सचिव बिहिन हुँदा सेवाग्राही मारमा परेका हुन् ।

सचिव नहुँदा सर्वसाधरणहरु कार्यालयबाट रित्तो हात फर्किनु पर्ने बाध्यता रहेको छ ।  निर्वाचन पछि भएका सचिवहरु सबै सरुवा भएर गएको र नयाँ सचिवले आउन नमानेका कारण समस्या भएको बन्गाड कुपिण्डे नगरपालिकाका कार्यकारी अधिकृत हरि बहादुर खत्रीले जानकारी दिनु भयो । वडा सचिवहरु नहुँदा जनप्रतिनिधिहरुलाई काम कसरी गर्ने भनेर अन्यौलता बढेको उहाँको भनाई रहेको छ ।

आवश्यक कर्मचारीको व्यवस्थापन हुन नसक्दा सेवाग्राहीले छिटो छरितो र सुुलभ ढंगले सेवा पाउन नसकि रहेको अधिृकत खत्रीले बताउनु भयो । उहाँले भन्नु भयो निर्वाचन भएको दुई महिना पुगी सक्यो तर कर्मचारीको व्यवस्थापन हुन सकि रहेको छैन अनि कसरी सिमित कर्मचारीले सेवाग्राहीलाई छिटो छरितो सेवा दिन सक्छ । जनताबाट निर्वाचित मेयर तथा उपमेयर समेत एक महिनादेखि कार्यालयमा नआएको सेवाग्राहीको भनाई रहेको छ । नगरसभा पछि मेयर उपमेयर कार्यालयमा जति पटक आउदा पनि भेट्न नपाएको एक स्थानीयले बताए ।

उनले भने नगरपालिकाबाट एउटा सिफारिस लिनु थियो सिफारिसका लागि धेरै पटक कार्यालयमा गए तर कहिलै मेयर र उपमेयरलाई भेटन सकिन। गाउँमै कार्यालय आएपछि कामकाज छिटो होला भनेको त झनै ढिला पो हुने रहेछ । एकातिर आवश्यक कर्मचारीको अभाव अर्कोतिर भएका कर्मचारीहरुबाट पनि काम छिटो नगरि दिदा सेवाग्राही बढि प्रभावित भएका छन् ।