ट्रेन दुर्घटनामा २३ जनाको मृत्यु


 

नयाँदिल्ली, (एजेनसी)
उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा शनिबार साँझ एउटा यात्रुवाहक ट्रेन पटरीबाट उछिटिँदा कम्तिमा २३ जना व्यक्तिको ज्यान जानुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीले राजधानी नयाँ दिल्लीदेखि करिब १ सय ३० किमि उत्तरमा पर्ने मुजफरनगर शहरनजिक कम्तिमा पनि आठवटा डिब्बा पटरीबाट झरेको बताएको छ। उक्त दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन। उद्धारकर्मीहरू रातभरि घटनास्थलमा जीवित यात्रुको खोजीकार्यमा व्यस्त रहेका थिए।

टेलिभिजना फुटेजमा डिब्बाहरू एकमाथि अर्काे खप्टिएको देखिएको छ। उक्त ट्रेन पूर्वी ओडिसा राज्यको पुरीबाट हिमालको काखमा रहेको हिन्दूहरूको पवित्र शहर हरिद्वारतर्फ जाँदै गरेको बताइएको छ।

प्रहरी अधिकारी अजय पान्डेले आफूहरूले ग्याँस कटरको मद्दतले डिब्बाहरू काटेर भित्र चेपिएकाहरू निकाल्ने प्रयास गरिरहेको बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत मृतक परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै तिनीहरूलाई हरसम्भव सहयोग उपलब्ध गराइने प्रतिवद्धता जनाएका छन्। भारतमा प्रायसः ट्रेन दुर्घटना दोहोरिरहने गरेको छ।

प्रत्येक दिन भारतमा २ करोड २० लाखभन्दा बढी व्यक्तिले रेल्वे सेवा प्रयोग गर्ने गरेका छन्। गत वर्षको नोभेम्बरमा पनि उत्तर प्रदेशमै भएको अर्को ट्रेन दुर्घटनामा १ सय ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।