नेपाली सेनाको उद्दार जारी, ठाउँ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली सेना बढी पिडितको उद्दारमा नियमित रुपमा खटेको छ । गत हप्ता परेको अविरल वर्षाको कारण देशको विभिन्न भागमा आएको बाढी तथा पहिरोवाट प्रभावित विभिन्न जिल्लामा स्थानीय प्रशासनसँगको समन्वयमा नेपाली सेनाको उद्धार तथा राहत टोलीले हवाई तथा पैदल मार्गबाट राहत सामाग्री ढुवानी गरी वितरण गर्ने कार्य गरिरहेको हो ।

सेनाले रौतहट जिल्लाको करुनिया गाउँपालिका १ र २ मा श्री सैनिक श्रीमती संघको तर्फबाट राहत स्वरुप प्राप्त मण्डी ४०० गोटा, ड्राई रासन ३८५ बोरा, तौलिया ४२२ गोटा, व्ल्यांकेट २२२ गोटा, जीवनजल १००० पुरिया, मध्य पृतनापति उपरथी श्री प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी सल्लाहकार श्रीमती सुनिता शर्माले स्थानीय बाढी पीडितहरुलाई वितरण गरेको जनाएको छ । उक्त राहतबाट ३ सय ८५ घरधुरी लाभान्वित भएका छन् ।

साथै, सोही स्थानमा नं.७ फिल्ड एम्बुलेन्स गुल्मबाट खटिएका डा. अधिकृत सहितको मेडिकल टोलीले स्वास्थ्य शिविर सञ्चालन गरी ३ सय २५ जनाको स्वास्थ्य परिक्षण तथा निशुल्क औषधि वितरण समेत गरेको नेपाली सेनाले समाचारपत्रलाई जानकारी दिएको छ ।