प्यूठान नगरपालिकाको बजेट ५७ करोड

0
Shares

एक घर एक धारा देखि एक रोजगारसम्म

सलिम अन्सारी,प्यूठान ।

प्यूठान नगरपालिकाले चालु बर्षका लागि नीति, कार्यक्रम तथा वजेट पारित गरेको छ । जिल्लाको मुख्य वजारकेन्द्र तथा चर्चामा रहेको नगरपालिकाले झिमरुक, सरुमारानी, गौमुखी, मल्लरानी पछि नगर सभा सम्पन्न गरेको हो । शुक्रबार सम्पन्न भएको नगरपालिका ऐतिहासिक प्रथम सभाबाट आर्थिक बर्ष २०७४÷०७५ का लागि निति कार्यक्रम सहित ५७ करोड ४४ लाख ३० हजार ७ सय ३६ रुपैया वजेट पारित गरेको छ ।

सभाबाट चालु तर्फ रु १८ करोड ८१ लाख १५ हजार ८ सय ९४ रुपैया वजेट विनियोजन गरिएको छ भने पूँजीगत तर्फ रु ३२ करोड ४८ लाख ४१ हजार २ सय ४३ रुपैया विनियोजन गरिएको हो । बिषयगत कार्यालयको खर्च रु १४ करोड ४३ लाख ५६ हजार रुपैया विनियोजन गरिएको छ ।

प्यूठान नगरपालिकाले विश्व कृतिमानी आरोही सन्जय पण्डितको सम्झनाको लागि सडकमार्ग निर्माण गर्ने निर्णय गरेको छ । खेलकुद तथा पर्वतारोहण क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै जोस र जागरका साथ विश्व कृतिमान राख्न सफल पण्डितको प्यूठान नगरपालिका ८ टिकुरीमा रहेको निर्माणाधिन नयाँ बसपार्क देखि बाग्दुला वजारसम्मका लागि रहेको सडक निर्माण र सन्जय पण्डितको नाममा नामाकरणको लागि ३० लाख विनियोजन गरिएको हो ।

नगर सभाले नगरपालिका भित्र रहेका १० वडाहरुलाई एक वडा एक उत्पादन वा उदाहरणमा नमुना बनाउने योजना लिएको छ । सभाले वडा नं १ लाई नमुना बालमैत्री, वडा नं।२ “ वन तथा वातारण संरक्षण, वडा नं। ३ “ सहकारीमा”, वडा नं। ४ “ तरकारी पकेट तथा प्लाष्टिकरहित ”, वडा नं। ५ “बाख्रा पकेट क्षेत्र तथा धुँवारहित”, वडा नं।

६ “पुर्ण सरसफाई”, वडा नं। ७ “लैगिंक हिंसारहित”, वडा नं। ८ “एक घर एक धारायुक्त”, वडा नं।९ “नमुना उद्योग” र वडा नं। १० लाई फलफुलमा पकेट क्षेत्रको रुपमा चिनाउनका लागि अभियानको रुपमा कार्यक्रम चलाउने गरी निर्णय भएको प्रमुख कक्षपतिले जानकारी दिए ।

‘नीति तथा कार्यक्रममा शिक्षा , स्वास्थ्य, संचार, यातायात, खानेपानी, विद्युत लगायतका विकासका पुर्वाधारहरूको अधिकतम उपयोग गरि वजेट विनियोजन गरिएको छ ।’ कक्षपतिले भने ‘एक घर एक रोजगार एक धारा, नमुना उद्योग, १२ महिना चल्ने सडक, एक गाउँ एक प्राविधिक, बैंक मार्फत सामाजिक सुरक्षा भत्ता,जेष्ठ नागरिकको निशुल्क आँखा उपाचार, बालमैत्री सरकार, शिशुस्याहार केन्द्र निर्माण, जातिय विभेदको अन्त्य लगायतका विषयमा वजेटले समेटेकाले नमुना नगर बनाउने कार्यको थालनी भएको महशुस भएको छ ।’