फिफा मेन्स प्लेयरमा २४ खेलाडीको मनोनयन


जुरिच, (एजेन्सी)
द बेस्ट फिफा मेन्स प्लेयर अवार्डको मनोनयनमा विश्वका २४ फुटबलरको नाम परेका छन्।

फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार चारवटाका विधाका लागि गरिएको मनोनयनमा २४ जना खेलाडी परेका हुन्। पुरुष खेलाडीमा २३ खेलाडीको मनोनयन हुने भए पनि भोटिङमा २३औं खेलाडीमा दुई खेलाडीको बराबरी मत आएपछि २४ खेलाडी समेटिएको फिफा डटकममा उल्लेख गरिएको छ। त्यस्तै पुरुष प्रशिक्षकमा १० जनाको मनोनयन गरिने भए पनि १०औं स्थानमा बराबरी भएपछि १२ जना अन्तिम छनोटमा परेका छन्।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र नेयमारलगायत २४ जना मनोनयनमा परेको उक्त अवार्ड कार्यक्रममा अक्टोबर २३ मा लन्डनमा हुनेछ। द बेस्ट फिफा वुमेन्स प्लेयरमा १० खेलाडी मनोयनमा छन्। दे बेस्ट फिफा मेन्स कोचमा १२ र वुमेन्स टिम कोचमा १० जना सूचीमा परेका छन्।

भोटका आधारमा ४ विधाका विजेताको चयन हुनेछ। फिफाका सदस्य राष्ट्रका राष्ट्रिय टोलीका कप्तान, राष्ट्रिय टोलीका प्रशिक्षक, फिफा डटमार्फत समर्थकहरूले गर्ने भोट र अन्तर्राष्ट्रिय २ सय पत्रकारले भोट गर्नेछन्। कप्तान, प्रशिक्षक, समर्थक र पत्रकारको भोट समान २५ प्रतिशत रहनेछ। उक्त कार्यक्रममा फिफा पुस्कार अवार्ड, फिफा फ्यान अवार्ड र नयाँ विधा द बेस्ट फिफा गोलकिपर अवार्ड पनि प्रदान गरिने जनाएको छ।

२४ खेलाडीमा मनोनयनमा पर्नेमा बोरुसिया डर्टमन्डका पिरी इम्रिक, युभेन्टसका लियोनार्दो बोनुची, गियालुइगी बफन र पउल डेबाला, रियल मेड्रिडका डेनी कार्भाजाल, सर्जियो रामोस, मार्सेलो, क्रिस्टियानो रोनाल्डो, टोनी क्रुस, लुका मोड्रिच र केलोर नाभास, एटलेटिको मेड्रिडका एन्टोनी ग्रिजम्यान, चेल्सीका इडेन हजार्ड र एनगोलो कोन्टे, हाल कहीं आबद्ध नभएका जाटान इब्राहिमोभिच, बार्सिलोनाका आन्द्रेस इनिस्टा, लियोनल मेसी र लुइस स्वारेज, टोटनहामका हेरी केन, बायर्न म्युनिखका रोबेर्टाे लेवान्डोस्की, म्यानुयल नुयोर र अर्टुरो भिडाल, पेरिस सेन्ट जर्मेनका नेयमार तथा आर्सेनलका एलेक्स सान्चेज छन्।