उत्सवमा रूख ढल्दा १३ जनाको मृत्यु


 

लिस्बन, (एजेन्सी)
पोर्चुगालको द्विपसमूह मडीरामा एक धार्मिक उत्सव समारोह स्थलमा रुख ढल्दा १३ जनाको मृत्यु भएको र अन्य दर्जनौं घाइते भएका छन्।

एक भिडियो फुटेजमा टापुको प्रमुख शहर फुन्सलमा धार्मिक उत्सव मनाउनका लागि भेला भएकाहरूमाथि रुख ढलेको देखिन्थ्यो। मृत्यु हुनेमा दुईजना बच्चा पनि परेको पोर्चुगल ब्रोडकास्टर आरटीपीले जनाएको छ।

बिहान स्थानीय समय करिब १० बजे भक्तालुहरू रोमन क्याथोलिक पर्व मनाउनका लागि एउटा गाउँको पहाडी इलाकामा पर्ने चर्च बाहिर भेला भएको बेला रुख ढलेको थियो।

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले मृतकहरूप्रति आफ्नो समवेदना प्रकट गरेका छन्। राष्ट्रपति मार्सेलो रेबेलोले पनि घटनास्थलको भ्रमण गरेका छन्। उक्त रुख २ सय वर्ष पुरानो ओक ट्री भएको समाचारमा जनाइएको छ।

युरोपेलीहरूका माझ मडिरा एक पर्यटकस्थलका रूपमा चिनिन्छ। यो उत्तरी आन्ध्र महासागरस्थित पोर्चुगलको सबैभन्दा ठूलो द्विप पनि हो। पोर्चुगलको समाचार एजेन्सी आरटीपीले रुखभित्रबाट खोक्रो भइसकेको र त्यसलाई विगत दुई वर्षदेखि टेको दिएर अड्याइराखेको प्रत्यक्षदर्शीहरूले बताएको जनाइएको छ।

गत वर्ष पनि जंगलमा आगलागी भएका कारण उक्त समारोह रद्द गर्नुपरेको र यसवर्ष यो उत्सव धुमधामसँग मनाउने तयार भइरहेको पोर्चुगलको न्युज वेबसाइट पब्लिको नोट्सले जनाएको छ।