बीबीसी कर्मचारीको सम्पत्ति रोक्का गर्ने निर्णय फिर्ता गर्न आग्रह


 

लन्डन, (एजेन्सी)
इरान सरकारले ब्रिटिस ब्रोडकास्टिंग कर्पोरेसन (बीबीसी)का लागि काम गरिरहेका कर्मचारीहरूको सम्पत्ति करिब रोक्का गरेकोमा उक्त आदेश फिर्ता गर्न बीबीसीले तेहरानलाई आग्रह गरेको छ।

बीबीसी फारसी सेवाका कर्मचारी, पूर्वकर्मचारी र केही सहयोगीहरूमाथि भएको उक्त कारवाहीको प्रष्ट रूपमा निन्दा गर्छ– बीबीसी वल्र्ड सर्भिसका निर्देशक फ्रान्सेस्का अन्सवर्थले बताए।

उक्त आदेशले बीबीसीका कर्मचारीहरूको सम्पत्ति, गाडी वा अन्य सामान खरिद–बिक्री गर्न रोक लगाएको उनले बताए। टिभी, रेडियो र अनलाइनमा प्रसारित बीबीसी फारसी सेवाको प्रसारणलाई इरानमा प्रतिबन्ध लगाइदिएको छ।

हालैका वर्षहरूमा बीबीसीका कर्मचारी र उनका परिवारका सदस्य नियमित रूपमा इरानी अधिकारीहरूको उत्पिडन र धम्कीको शिकार हुँदै आइरहेको जनाइएको छ। बीबीसी फारसी सेवासँग १ सय ५२ जना कर्मचारी, पूर्वकर्मचारी र सहयोगीहरूको नामका अचल सम्पत्ति न्यायपालिकाद्वारा रोक्का गरिएको पत्रको प्रति रहेको जनाइएको छ। यद्यपि बीबीसीलाई अदालतले उक्त आदेशको सूचना भने दिएको थिएन। बीबीसी फारसी सेवाका एक कर्मचारीका नातेदारले उनको तर्फबाट एक सम्पत्ति बेच्ने प्रयास गर्दा उक्त निर्णयका बारेमा जानकारी प्राप्त गरेको थियो।

इरानको न्यायपालिकाले अदालतको उक्त आदेशलाई लिएर कुनै स्पष्टिकरण दिएको छैन। बीबीसी वल्र्ड सर्भिसका निर्देशक अन्सवर्थले मंगलबार जारी गरेको एक विज्ञप्तीमा भनेका छन्– ‘हामी बीबीसी कर्मचारी, पूर्वकर्मचारी र केही सहयोगीहरूमाथि लक्षित यो हमलाको कडा निन्दा गर्छौं।’

उनले भने– ‘बीबीसीसँग आबद्ध हुनुले नै कसैको कानुनी वा आर्थिक नतिजा भोग्नुपर्ने स्थिति भनेको डरलाग्दो अवस्था हो।’ उनले इरानी प्रशासनलाई तत्काल उक्त आदेश फिर्ता लिन आग्रह गरेका छन् र बीबीसी कर्मचारी र पूर्वकर्मचारीलाई अन्य नागरिकलाई जस्तै वित्तिय अधिकार हुनुपर्ने उनले बताए।
बीबीसी फारसी सेवाका प्रबन्धकले उक्त अदालतको आदेशलाई निष्पक्ष पत्रकारलाई दबाउने थप एक प्रयास भएको प्रतिक्रिया दिएका छन्। बीबीसी फारसी सेवाका प्रमुख अमिर अजिमले फारसी सेवाका लागि कार्यरत पत्रकारले विश्वभरिका फारसी बोल्नेहरूका लागि स्वतन्त्र, निष्पक्ष र विश्वसनीय खबर पुर्याउन जारी राख्ने बताए। इरानमा प्रतिबन्धका बाबजुद ताजा आंकडाले बीबीसी वल्र्ड सर्भिसका इरानमा १ करोड ३० लाख दर्शक रहेको देखाएको छ।