“सुनचाँदी व्यवसायमा संकट”

0
Shares

 

नेपाल समाचारपत्र
ललितपुर
सुनचाँदी व्यवसायमा चारैतिरबाट अनेक संकट निम्तिएको बताउँदै व्यवसायीले त्यसप्रति सरकार गम्भीर नभएको बताएका छन्।ललितपुर सुनचाँदी व्यवसायी संघको पाँचौं वार्षिक साधारणमा उनीहरूले सो कुरा बताएका हुन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारले विवाह लगनको समयमा दैनिक ६० किलो सुन माग रहेकोमा २० किलो सुन मात्र सरकारले उपलब्ध गराउँदै आएको र त्यो पनि ठूला व्यवसायीहरूले कब्जा गर्ने गरेकाले अधिकांश व्यवसायीहरू मारमा परेको बताउनुभयो।

उहाँले सुनचाँदी व्यवसायी सम्बन्धी मापदण्ड बनाउने जिम्मेवारी लिएका प्रशासकहरू त्यस कार्यमा गम्भीर नबनेको पाँचौं वर्ष बितिसक्दा पनि कार्य पूरा नभएको बताउनुभयो। महासंघका अध्यक्ष सुनार अहिले सुन गाल्ने ग्यासको अभावमा व्यवसाय ठप्प हुने अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो।
सो अवसरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले विश्व बजारमा नेपाली गरगहना स्थान भारतीय गरगहनाले लिँदै गएको जनाउँदै त्यसलाई प्रवद्र्धन गर्न राज्यको प्रभावकारी भूमिका हुनुपर्ने खाँचो औंल्याउनुभयो।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सम्मिश्रण, ज्याला र जर्तिको विषयमा कुरा नमिलेका कारण मापदण्ड बनाउने कार्यले पूर्णता नपाएको बताउँदै त्यसका लागि व्यवसायीहरूबीच एकता हुनुपर्ने जोड दिनुभयो। उहाँले नेपालको मौलिकतासंँग व्यवसायमा आम उपभोक्ता ठगिने अवस्था आउन नदिन सबै सचेत हुनुपर्ने खाँचो पनि औंल्याउनुभयो।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले व्यवसायीहरूको हकहितका लागि सरकारसँंग पैरवी गर्न व्यवसायीबीचको एकता अनिवार्य रहेको बताउनुभयो।

ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष किरणभाई बज्रचार्यले सुनचाँदी व्यवसायीहरूले अनेक व्यावहारिक, नीतिगत र सुरक्षासँंग सम्बन्धित अनेक समस्या सामना गर्नुपरिहेको बताउनुभयो।

ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सन्त्याललाई स्वागत गरिएको सो समारोहमा संघका महासचिव सुविन बज्रचार्य, सचिव विपन शाक्यलगायतले व्यवसायमा देखिएका चुनौतीहरू समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदै आ आफ्नो धारणा राख्नुभयो