काठमाडौं, (नेस)
खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले सहकारीमार्फत् समाजवाद स्थापना हुने बताउनुभएको छ।
सूचना चौतारी सञ्चार सहकारी संस्थाको पाँचौ वार्षिक साधारणसभामा बोल्दै मन्त्री यादवले सहकारीमार्फत् समृद्धि हासिल गर्न सकिने बताउनुभयो। ‘सहकारी नै आर्थिक विकासको मुख्य आधार हो, यसबाट नै राष्ट्र बदल्न सकिन्छ’ उहाँले भन्नुभयो। मन्त्री यादवले सहकारी ऐन छिट्टै पास गर्ने तयारी भएको भन्दै भन्नुभयो–‘ऐनपश्चात सहकारी दु्रतगतिमा अघि बढ्छ।’
सूचना चौतारी सञ्चार सहकारी संस्थाका सल्लाहकार एवम् सांसद ओमदेवी मल्लले सहकारी ऐन तत्काल जारी गर्न आवश्यक भएको बताउनुभयो। प्रस्तावित सहकारी ऐनमा कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरणको व्यवस्थाले सहकारीमा विकृति रोकिने बताउनुभयो। ‘बदमासी गर्नेलाई कैदको व्यवस्था गरिएको छ, यसले सहकारी सुधार गर्न मद्दत पुर्याउँछ,’ उहाँले भन्नुभयो।
त्यस्तै ऐनमा शेयरको १५ गुणासम्म कर्जा लिन पाइने व्यवस्थाले सहकारीकर्मीमा उत्साह थपिने मल्लको विश्वास थियो। ‘डिभिडेन्ड १५ प्रतिशतभन्दा बढी बाड्न नपाइने व्यवस्थालाई केही बढाइएको छ, यसले सहकारीमा उत्साह थप्ने छ,’ उहाँले भन्नुभयो।
यसैबीच सूचना चौतारी सञ्चार सहकारी संस्थाले अन्नपूर्णकर्मी तुल्सीराम सुवेदीलाई सम्मान गरेको छ। नेपालको सहकारी अभियानमा पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको कदर गर्दै सम्मान व्यक्त गरेको हो। खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले कदरपत्र प्रदान गर्नुभएको थियो।
त्यस्तै सहकारीले सहकारीमा जोखिम व्यवस्थापन विषयमा विद्यावारिधी गर्नुभएका डा. ज्ञानेन्द्र पौडेल एवम् उत्कृट सहकारी गीत रचनाकार शरद महर्जनलगायतलाई पनि सम्मान गरिएको थियो।











प्रतिक्रिया