बार्सिलोनाको मैदानमा रियलको जित, रोनाल्डोले रातो कार्ड खाँदा पनि चुक्यो बार्सिलोना


एजेन्सी – स्पेनिस सुपर कप अन्तर्गत बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलिएको पहिलो लेगको खेलमा रियल म्याड्रिड ३-१ले विजयी भएको छ। रियलका रोनाल्डोले दोहोरो पहेंलो कार्ड पाएपछि अन्तिम समयमा १० खेलाडीमा सिमित रियलले पहिलो लेगमा राम्रो अग्रता बनाएको छ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोश्रो हाफको ५ मिनेट नबित्दै रियलले खेलमा अग्रता लियो। लेफ ब्याक मार्सेलोले क्रस गरेको बल बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले क्लियर गर्न खोज्दा आफ्नै पोष्टतर्फ गोल हुन् पुगेको थियो।

त्यसपछि खेलको ७७औं मिनेटमा गोलरक्षक कलर नाभासले बार्सिलोनाका फरवार्ड लुइस सुआरेजलाई लडाएपछि रेफ्रीले बार्सालाई पेनाल्टी दिए। लिओनेल मेस्सीले उक्त पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

पहिलो रोजाइमा नपरेका कारण ५८औं मिनेटमा मैदान प्रवेश गरेका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ८०औं मिनेटमा उत्कृष्ट गोल गरेपछि रियलले खेलमा पुन: अग्रता लियो। रोनाल्डोले इस्कोको पास लिएर पिकेलाई छक्याउँदै बक्स बाहिरबाट गरेको प्रहार टप कर्नरमा उत्कृष्ट ढंगले छिरेको थियो। उनले उक्त गोलको खुशी मनाउने क्रममा जर्सी उतारेपछि पहेंलो कार्ड पाएका थिए।

त्यसको १ मिनेटपछि रोनाल्डो अर्को आक्रमणका क्रममा बक्सभित्र बार्सिलोनाका स्यामुएल उम्टिटीले फल हानेको जनाउदै बक्सभित्र लडे। तर, रेफ्रीले रोनाल्डोलाई फल नहानेको र उनले डाइभ दिएको आरोपमा दोश्रो पहेंलो कार्ड देखाउँदै रातो कार्ड दिए। १० खेलाडीमा सिमित रियलआ लागि ९०औं मिनेटमा मार्को एसेन्सियोले गोल गरेका थिए। उनले लुकास भाज्केजको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए।

पहिलो लेगमा ३-१को अग्रता लिएको रियलले दोश्रो लेगक लागि बार्सिलोनालाई घरेलु मैदान सान्टियागो बर्नाबाउमा आमन्त्रण गर्नेछ। त्यस खेलमा रातो कार्ड पाएका फरवार्ड क्रिस्टियानो रोनाल्डो भने उपस्थित हुने छैनन्।