बाढीले महोत्तरीमा कैदीबन्दीको विजोग,भित्रै शौचालय गर्न बाध्य

0
Shares

लक्ष्मी कुमार साह, महोत्तरी ।
विगत चार दिन देखिको अविरल वर्षा र बाढीले जलेश्वर कारागारका कैदीबन्दीहरुको विजोग भएको छ । जलेश्वर कारागारमा विभिन्न मुद्दामा सजाय भोगिरहेको कैदीहरुको कारागार परिसरमै आईतबार करिब ६ फिट पानी पसेपछि उनीहरुको विजोग भएको हो ।

जलेश्वर कारागारमा एक सय ३५ कैदी राख्न सक्ने क्षमता रहेकोले अहिले सो कारागारमा तीन सय ८२ कैदी रहेकोमा सो मध्ये चालिस महिला कैदी र दुई आश्रित वालवालिका रहेका छन ।

कारागार परिसरमै आईतवार पानीको उच्च वहाव रहेकोले कैदीहरु पानी भित्रै शौचालय गर्न बाध्य भएका छन । हातेकल समेत पानीमा डुवेपछि पुरुष तथा महिला कैदीहरु समेत विगत तीन देखि देखि खाना तथा पानी विना नै वस्नु परिरहेको अवस्था छ ।
कैदीहरुको अवस्था बुझ्न कारागार पुगेका संचारकर्मीहरुमाथी खनिदै कैदीहरुले आफ्नो व्यथा देखाउँदै गुनासो गरे । कैदीहरुले विगत तीन दिन देखि खाना र पानी नपाएर भोकै वसेको अवस्था रहेको छ ।

कैदीहरुलाई अहिलेसम्म कुनै निकायले अवस्था बुझन समेत नआएको जनाएको छ । कारागारको तल्लो तल्ला पानीमा पुरै डुवेपछि उनीहरु कारागारको माथिल्लो तल्ला र छतमा वास वसेको जनाए ।

कारागारमा कैदीहरुले अझै खाना पकाउने ठाउँ नपाएर कहाँ खाना पकाउने, के पकाउने र कसरी खाने भनेर चिन्तित भएका छन । यता कारागार कै कार्यालय तथा सुरक्षाकर्मी सुत्ने कोठाहरु जलमग्न रहेपछि सुरक्षाकर्मीहरु पनि खान र वस्न छतकै सहारा लिएका छन ।

महोत्तरीमा आएको वाढीले अहिलेसम्म एकजनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन । त्यस्तै दुई सय १८ घर पूर्ण क्षति भएको र चार हजार मानिसलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको आईतवार साँझ सात बजेसम्मको तथ्यांक छ ।