उमेर ढाँट्ने डीएसपी फन्दामा


 

काठमाडौं, (नेस)
डेढ वर्षअघि नै सेवाबाट अनिवार्य अवकास पाउनुपर्ने एक प्रहरी अधिकृतले उमेर ढाँटेर डीएसपीमा बढुवासमेत पाएका छन्।

हालै गृह मन्त्रालयले बढुवा गरेको सूचीमा परेका बल्लभबहादुर सिंहले फरकफरक जिल्लाबाट फरक मितिमा नागरिकता जारी गरेको फेला परेपछि प्रहरी किताबखानाले सिंहमाथि कारबाही गर्ने तयारी गरेको छ।

सिंहले प्रहरी किताबखानामा पेस गरेको नागरिकतामा जन्ममिति २०१६ साल उल्लेख छ। नागरिकता हराएपछि कामको सिलसिलामा कालिकोट पुगेका सिंहले त्यहाँबाट लिएको प्रतिलिपि नागरिकतामा जन्ममिति २०१८ साल उल्लेख छ।

प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षकमा बढुवा भएका ९४ जनामध्ये उनी अन्तिममा बढुवा भएका थिए। उनले पेस गरेको नागरिकतामा फरक फरक जन्ममिति फेला परेपछि प्रहरी किताब खानाले कारबाहीका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ। उनले पेस गरेको नागरिकताअनुसार डेढ वर्षअघि नै सेवाबाट अनिर्वाय अवकाश पाउनुपर्ने थियो। तर उनले ढाँटेर फरक जन्म मितिको नागरिकता पेस गरेर बढुवासमेत भएका थिए।

उनको बढुवासमेत रद्द गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ। प्रहरी किताब खानाले सिंहलाई यस विषयमा पटक पटक लिखित तथा मौखिक ताकेता गरेको भए पनि उनले कुनै जवाफ नदिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको छ। यस विषयमा प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो। सिंहले मिति ढाँटेर जागिर खाएको भए कानुनअनुसार कारबाही हुनेसमेत प्रवक्ता कार्कीले जानकारी दिनुभयो।