पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध


 

चितवन, २८ साउन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ को सेतीदोभान भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

दिनभरको अविरल वर्षापछि पहिरोको जोखिम हुनसक्ने भन्दै अपराह्न २ बजेदेखि सवारी आवागमन रोकिएको थियो । त्यसको केही समयमा मुग्लिनबाट नौ किलोमिटर नारायणगढतर्फ सेतीदोभान नजिकै पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।

त्यसैगरी, मुग्लिनको मुखैमा, भालुढुंगा, भोर्लेलगायत ठाउँमा पनि पहिरो खसेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार बीचसडक क्षेत्रमा पुग्न नसकेकाले अन्य के–कति ठाउँमा पहिरो खसेको छ जानकारी हुन सकेको छैन । यद्यपि ठूला पहिरो कुनै पनि नभएकाले पहिरो रोकिएमा सफा गर्न भने समय नलाग्ने उहाँले बताउनुभयो ।

पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको उहाँले बताउनुभयो । ती ठाउँमा माथिबाट ढुंगा र लेदो माटो खसिरहेको छ । सडक अवरुद्ध भएपछि दिउँसोदेखि यात्रु अलपत्र परेका छन् ।

पहिरो खस्न रोकिएमा सडकका बीचमा रहेका सवारीलाई गन्तव्यतर्फ पठाउन सडक खुलाउने प्रयासका लागि तयारी अवस्थामा उपकरण र जनशक्ति राखिएको खनालले बताउनुभयो । रातको समयमा सो सडकमा आवागमन रोकिँदै आएको छ । रासस