जंगबहादुर शैलीमा सुरक्षा निकायको धम्की, नियम र कानुनमा नै उल्लेख छैन ‘कारबाही’



 

दीपक रिजाल, काठमाडौं
सुरक्षा निकायमा हालै बढुवा भएका अधिकृतहरूले सामाजिक सञ्जालमा फोटो पोस्ट गरेपछि सुरक्षा निकायको माथिल्लो निकायले फोटो किन हालेको भन्दै कारबाही गर्ने चेतावनी दिएपछि अहिले ती सुरक्षा निकाय आलोचनाको पात्र बन्न थालेका छन्।

लामो समयपछि बढुवा भएका सुरक्षा निकायका अधिकृतले दज्र्यानी चिह्न लगाएको फोटो सामाजिक सञ्जालमा हालेको भन्दै ती सुरक्षा निकायका प्रधान कार्यालयले स्पष्टीकरण सोधेपछि यस विषयमा बहस शुरू भएको छ।

सुरक्षा निकायका ऐन तथा नियमावलीमा सामाजिक सञ्जालमा तस्वीर पोस्ट गरेमा के कस्तो कारबाही हुने कुनै कुरा उल्लेख नभए पनि ती सुरक्षा निकायको प्रधान कार्यालयले भने मौखिक आदेशको भरमा कारबाहीको धम्की दिएर उनीहरूको हुर्मत लिने काम गरेको भन्दै सुरक्षा निकायका प्रमुखहरूको आलोचना शुरू भएको छ।

गृहमन्त्री जर्नादन शर्माले पद बहाली गर्ने क्रममा कुनै पनि प्रहरी अधिकृतलाई जथाभावी नबोल्न र सामाजिक सञ्जालमा युनिफर्म लगाएका तस्वीर पोस्ट नगर्न मौखिक आदेश दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विना कानुन जंगबहादुर शैलीमा कारबाही गर्ने चेतावनी नै विवादमा परेको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजु अर्यालले सामाजिक सञ्जालमा युनिफर्म लगाएका तस्वीर पोस्ट गरेर संगठनलाई होच्याउने जस्ता काम गर्नेमाथि कारबाही गर्ने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘सुरक्षा निकायको युनिफर्म लगाएर अस्वाभाविक अभिव्यक्ति दिने युनिफर्म लगाएर अन्य हर्कत गर्नेमाथि कारबाही गर्ने गरिएको छ।
सामाजिक सञ्जालमा फोटो पोस्ट गरेबापत कुन कानुन वा ऐनमा टेकेर कारबाही गर्नुभएको छ भन्ने प्रश्नमा एसएसपी अर्यालले भन्नुभयो– ‘ऐनमा त्यस्तो कुनै व्यवस्था त छैन तर संगठनलाई अप्ठेरो पर्ने काम गर्नेलाई कारबाही गर्ने चेतावनी दिइएको हो।’

कुनै कानुन नै नबनाई जुन ढंगले सुरक्षा संगठनले कर्मचारीलाई धम्की दिनु न्यायोचित नभएको कानुन व्यवसायीहरू बताउँछन्। कानुन व्यवसायी रणबहादुर थेवे भन्नुहुन्छ– ‘सुरक्षा निकायले विना नियम कानुन त्यसरी धम्की दिनु गैरकानुनी काम हो।’ सुरक्षा निकायले नियम बनाएर कारबाहीको गर्नुपर्छ जसलाई जे मन लाग्यो त्यही गर्न पाइँदैन कानुन व्यवसायी थेवेले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

नेपाल प्रहरीमा हालै बढुवा भएका एसएसपीदेखि प्रहरी निरीक्षकसम्मले सामाजिक सञ्जालमा बढुवा भएपछि दज्र्यानी चिह्न लगाएका तस्वीर पोस्ट गरेपछि प्रहरी प्रधान कार्यालयले कारबाहीको धम्की दिएर विभिन्न सञ्चारमाध्यमलाई सूचना उपलब्ध गराएपछि यो विषय अहिले विवादमा परेको छ। प्रहरी प्रधान कार्यालयले ५० जना अधिकृतलाई कारबाहीको धम्की दिएपछि यसको कानुनी पक्षका विषयमा बहस शुरू भएको छ।

यसअघि नेपाली सेनाले आन्तरिक रूपमा सर्कुलर जारी गरेर युनिफर्मसहितका तस्वीरहरू पोस्ट नगर्न आग्रह गरे पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अहिलेसम्म उक्त आन्तरिक सर्कुलरसमेत जारी गरेका छैन। दुवै संगठनको प्रधान कार्यालयले फोन गरेर सामाजिक सञ्चालमा तस्वीर पोस्ट गर्न अधिकृतहरूलाई कारबाही गर्ने धम्की दिएको छ। ती दुवै संगठनले कारबाही गर्न बताए पनि कुन ऐन र कानुनअनुसार कारबाही गर्ने केही बताएका छैनन्।

प्रतिक्रिया दिनुहोस्