काममा अवरोध नआए हिउँदमा लोडसेडिङ नहुनेः ऊर्जा मन्त्री शाही

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले आगामी हिउँदमा पनि लोडसेडिङ नहुने बताउनुभएको छ।

हालकै अवस्थामा परियोजनाको कामको गति लिने हो भने र भइरहेको काममा अवरोध नआए लोडसेडिङ सधैंका लागि अन्त्य हुने बताउनुभयो।

मंगलबार राजधानीमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री शाहीले हिउँदमा लोडसेडिङ हुन नदिने कार्ययोजना आफूसँग रहेको र सोहीअनुरुप कार्ययोजनाहरू पनि तयार पारिएको बताउनुभयो। ‘यसपालिको हिउँदमा पनि लोडसेडिङ हुन नदिने कार्ययोजना बनिसकेको र त्यस्तो कार्ययोजना हामी केही दिनभित्रै सार्वजनिक गर्नेछौं।’ –मन्त्री शाहीले भन्नुभयो।

आगामी हिउँदमा सर्वसाधारणले मात्र नभएर औद्योगिक क्षेत्रहरूले पनि मागअनुसार पर्याप्त विद्युत् पाउने भन्दै मन्त्री शाहीले लोडसेडिङ अन्त्यका लागि मन्त्रालय र प्राधिकरणले चालेका कदमहरूमा सबैको साथको पनि खाँचो औल्याउनुभयो। उहाँले विद्युत् चुहावट नियन्त्रणका लागि स्मार्ट ग्रीड र स्मार्ट मिटरको कार्यान्वयन अघि बढाउने तयारी गरिरहेको पनि जानकारी दिनुभयो।
केही समयभित्रै गुरुयोजनाका रुपमा स्मार्ट ग्रीड र मिटर जडानको काम अघि बढाउने र ऊर्जा क्षेत्रमा यस्ता नयाँ प्रविधिको प्रयोग गरेर लोडसेडिङ घटाउने तर्क गर्नुभयो। नेपाल विद्युत् प्राधिकरणको प्रशासनलाई नयाँ प्रविधिमैत्री बनाएर चलयमान गर्नुपर्ने काम चुनौतीपूर्ण रहेको समेत उहाँको कथन रहेको छ।

हाल सञ्चालनमा रहेका सवस्टेशनलाई सुधार गर्नुपर्ने र धेरै ठाउँमा भएका ट्रान्सफर्मरहरू परिर्वतन गर्नुपर्ने बताउँदै शाहीले भन्नुभयो– ‘चुहावट मात्र नियन्त्रण गर्न सकियो भने ठूलो मात्रमा ऊर्जा सञ्चय गर्न सकिन्छ।’

दिन प्रतिदिन प्राधिकरण घाटामा गएको भन्दै शाहीले यसको कारण पहिल्याउन बहस र छलफल गर्नुपर्नेसमेत बताउनुभयो। ‘इच्छाशक्ति भएमा जुनसुकै समस्याको पनि समाधानको हुन्छ, त्यसका लागि इमानदारी, कर्तव्यनिष्ठता र दायित्व बोध गर्नु पनि आवश्यक छ।

पारदर्शिता, प्रशासकीय क्षमता अभिवृद्धि र प्रविधिमैत्री प्रशासनको प्रारुप अनुरुप काम गर्दै गएर संस्थागत भ्रष्टचारमा समेत नियन्त्रण गरिने शाहीको भनाइ रहेको छ।

उहाँले मुलुकले विभिन्न खालका आन्तरिक समस्याहरूका कारण विभिन्न ठूला परियोजनाहरूले गति लिन नसकेको बताउनुभयो। नेपालीको पूँजीले ठूला आयोजनालाई लगानी नपुग्ने भएकाले बाह्य पूँजी भित्त्याउनु आवश्यक रहेको पनि उहाँले बताउनुभयो।