अन्तर्घात गर्ने कांग्रेस नेता कारबाहीमा

0
Shares

 

धनवीर दाहाल, रुकुम
नेपाली कांग्रेस रुकुमले स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारलाई हराउन मुख्य भूमिका पार्टी भित्रैबाट खेलिएको भन्दै त्यस्तो भूमिका निर्वाह गरेको आरोपमा वर्तमान सांसद तथा पूर्वशहरी विकास राज्यमन्त्री मिठ्ठु मल्ल र जिल्ला पार्टी सचिव जनक चन्दसहित जिल्ला स्तरका नेता तथा कार्यकर्ता गरी २१ जनालाई कारबाही गरेको छ।

स्थानीय निर्वाचन समीक्षाका लागि बसेको स्थानीय तहका उम्मेदवार, क्षेत्रीय कार्यसमिति, भ्रातृ संघसंगठनका पदाधिकारीसहितको भेलाले वर्तमान सांसद तथा पूर्वराज्यमन्त्री मल्लसहित ७ जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ भने १४ जनालाई थप स्पस्टीकरण मागेको छ।

जिल्ला पार्टीले गठन गरेको अनुशासन विभागको सिफारिसमा पार्र्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद मल्ल, जिल्ला सचिव जनककुमार चन्द, जिल्ला कार्यसमिति सदस्य विष्णुप्रकाश खडा, निर्वाचन क्षेत्र नम्बर १ का सभापति सुरतजंग मल्ल, क्षेत्रीय प्रतिनिधि शिवलाल आचार्य, टेकबहादुर पुन, बालकृष्ण भाटलाई पार्टीवाट निस्कासन गरिएको हो। पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीको हितविपरीत कार्य गरेको भन्दै गत जेठ ८ गते अनुशासन विभागले २५ जनालाई लिखित स्पष्टिकरण सोधेको थियो।
तीमध्ये चार जनाले मात्रै लिखित स्पष्टिकरण दिएको र त्यो चित्तबुझ्दो भएकाले उनीहरूलाई सफाई दिएको अनुशासन विभाग संयोजक भीमबहादुर डाँगीले बताए। सांसद मल्लको सदस्यता खारेजीका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय भएको छ भने अन्य ६ जनाको जिल्ला कार्य समितिले नै सदस्यता खारेज गरिदिएको छ।

सांसद मल्लको हकमा जिल्ला पार्टीले साधारण सदस्यता खारेज गर्न नमिल्ने भएकाले सदस्यता खारेजका लागि केन्द्रमा सिफारिस गरिएको र जिल्लामा रहेको पार्र्टीको सबै भूमिकाबाट निलम्बित गरिएको छ। थप स्पष्टिकरण सोधिएका १४ जनाले ३ दिनभित्र जिल्ला कार्य समितिलाई लिखित स्पष्टिकरण दिनुपर्ने छ। उनीहरूको स्पष्टिकरणको आधारमा आवश्यक कारबाही गर्ने निर्णय जिल्ला कार्य समितिले गरेको छ।

सांसद मीठु मल्ल १ नम्बर क्षेत्रीय सभापति सुरतजंग मल्ल, क्षेत्रीय प्रतिनिधि टेकबहादुर पुनलाई मुसीकोट नगरपालिकाका मेयरका उम्मेदवार महेन्द्र केसीलाई हराउनमा भूमिका खेलेको आरोप लगाइएको छ। यसै गरी जिल्ला सचिव जनक चन्दलाई बाँफिकोट गाउँपालिका १० नम्बर वडाध्यक्षसहितका उम्मेदवारलाई हराएको आरोप छ।

क्षेत्रीय प्रतिनिधि शिवलाल आचार्यलाई पार्र्टीको अनुशासन उललंघन तथा चौरजहारी नगरपालिकाका मेयरका उम्मेदवार बलवीर गोसाईलाई हराउन सहयोगी भएको आरोप छ। कांग्रेस जिल्ला सचिव भीमबहादुर खड्काले कारबाहीको थालनी गरिएको बताए। सचिव खड्काले अझै पनि स्पष्टिकरण आउन सक्ने अथवा आत्मआलोचना गर्न सक्ने के हुन्छ त्यस विषयमा पार्टीले अर्काे निर्णय गर्ने बताए।

सांसद मल्लको हकमा पार्टी केन्द्रले जिल्लाको निर्णय अनुमोदन गर्ने उनले विश्वास व्यक्त गरे। उनले भने– ‘कतिपय साथीहरूको आत्मआलोचनासहितको स्पष्टिकरण आयो भने पार्टीले सोच्न सक्छ तर सांसद मल्लले भने कुनै पनि हालतमा पार्टीमा रहने खालको काम नगरेको उनले दाबी गरे। पार्टी सदस्यता नरहेपछि सांसद पद पनि रहने कुरै छैन’ उनले थपे।