बाबुरामलाई भेट्न प्रचण्ड अस्पतालमा

0
Shares

 

भक्तपुर, (नेस)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था बुझ्न मंगलबार भक्तपुर गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल पुग्नुभएको छ।

गत शुक्रबार प्रोस्ट्रेट ग्ल्यान्ड मुत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना हुनुभएका डा. भट्टराईको स्वास्थ्य अवस्था बुझ्न अपराह्न अध्यक्ष ‘प्रचण्ड’ अस्पताल पुग्नुभएका हो।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले पूर्वप्रधानमन्त्री डा. भट्टराईको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो। शल्यक्रियामा संलग्न प्राडा राकेश वर्मासँग करिब १५ मिनेट जानकारी लिएपछि दुवै नेताबीच मात्रै करिब आधा घण्टा छुट्टै छलफल भएको थियो।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले डा. भट्टराईसँग उहाँको स्वास्थ्य अवस्था र वर्तमान राजनीतिक परिवेशबारे छलफल भएको बताउनुभयो। उहाँले डा. भट्टराईको उपचारको क्रम चलिरहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकको भनाइ रहेको उल्लेख गर्दै उहाँ छिट्टै घर फर्किने विश्वास व्यक्त गर्नुभयो।

करिब एक वर्षदेखि नियमितरूपमा डा. भट्टराईको मुत्रथैलीको परीक्षण आफूले गरिरहेको बताउँदै प्राडा वर्माले हाल पिसाबमा बढी खराबी आएका कारण शल्यक्रिया गरिएको बताउनुभयो। शल्यक्रियापछि ३ दिनसम्म पिसाबनलीमा पाइप राखेर मंगलबार बिहान निकालिएको छ।