१ सय ४५ को जीवनलीला टुंगिएको ठाउँ, कसरी सिलाउने फाटेको मन ?

0
Shares

 

नानीराम नेपाल, सिन्धुपाल्चोक
२०७१ साउन १७ गतेको राति जुरेमा पहाडै खस्यो। राम्चेको इटिनी भीर खस्दा मांखा कागुने, ड्यामसाइड र टेकानपुरका १ सय ४५ ले ज्यान गुमाए। कति घाइते र अंगभंग भए। सयौंको घरबास खोसियो। पहाड नै खसेपछि १४ घण्टासम्म सुनकोसी थुनियो। १४ घण्टा सुनकोसी बगेन, जुरेमा आँसु मात्र बगिरह्यो। १ सय ४५ जनाको जीवनलीला समाप्त पार्ने गरी जुरेमा पहाड खसेको तीन वर्ष भएको छ। तीन वर्षका बीच सुनकोसीमा धेरै पानी बगिसकेको छ, पहिरोले उजाड बनाएका भीरपाखामा रुखबिरुवा पलाइसकेका छन्। खण्डहरू बनेको त्यो ठाउँ क्रमशः हरियाली बन्दै छ तर पहिरोका पीडित⁄विस्थापितका मुहारमा खुसी फर्किएको छैन अझै। पहिरोले विस्थापित बनाएकाहरू अझै पनि विस्थापित जीवन बिताइरहेका छन्। उनीहरू पहिलेकै जग्गाजमिनमा फर्कन सकिरहेका छैनन्।

बरु पहिरोमा रुख पलाइसक्यो तर पीडित विस्थापितको जीवनमा खुसी पलाउन सकेन।

तीन वर्षअघि पहिरोमा परिवारका पाँच जनालाई गुमाएका ड्यामसाइडका कृष्णराम श्रेष्ठ आइतबार पहिरो स्थलमै टोलाइरहेका थिए। पहिरोमा परी घाइते भएका उनको घाउ त निको भइसक्यो, तर मनको घाउ निको भएको छैन अझै। पहिरोमा घरभित्रै परेका उनको पेटमा ठूलो चोट लाग्यो। अस्पतालमा उपचार गराए, डाक्टरले च्यातिएको शरीर सिलाइदिए तर फाटेको मन सिलाउन अझै सकिरहेका छैनन् उनी। पहिरोमा पत्नीसहित दुई बालबच्चा र भाइ गुमाएका उनले केही समयअघि विवाह गरे अनि जिन्दगीको नयाँ अध्याय लिएर थातथलो फर्किए। अन्यत्र जग्गाजमिन नभएपछि पहिरोको छेवैमा उनले घर बनाइरहेका छन्।

१ सय ४५ को जीवनलीला टुंगिएको त्यही ठाउँमा उनी जीवनको नयाँ अध्याय लिएर फर्किएका हुन्। ‘अब त पहिरो आउँदैन होला भनेर यहीं आएँ’, सोमबार ड्यामसाइडमा भेटिएका उनी भन्दै थिए– ‘जाने ठाउँ कतै छैन, बास त बनाउनै पर्यो।’

उनीसँगै थिए कागुनेका रामबहादुर तामाङ। उनी पनि पहिरोले बगाएको आफ्नो घरको निशाना नियालिरहेका थिए। ड्यामसाइडस्थित वनसाँघु माध्यमिक विद्यालय छेउमा बसेर आफ्नो घर जग्गाको भूगोल देखाउँदै थिए उनी पनि। ‘ऊ त्यहीँनेर थियो घर, तलदेखि माथिसम्म मेरै जग्गा थियो’ –भन्दै थिए उनी। २०७१ साउन १७ को त्यो जुरे विनाशलीलामा परिवार गुमाएका मान्छे हुन उनी पनि। पहिरोले उनको घरजग्गाको भूगोल मात्र भत्काएन, परिवार नै भत्काइदियो। पहिरोले परिवारको सुख खोस्यो, खुसी लुटियो। खुसी लुटिएको त्यो क्षण उनी घरिघरि सम्झन्छन् अनि सुस्केरा हाल्छन्। क्रमशः पीडा भुल्दै उनी सामान्य जीवनमा फर्किएका छन् तर जुरेको पहिरो उनको मनमा अमिट बनेर बसिरहेको छ। ‘त्यो कालो दिन कसरी भुल्न सकिएला र?’ –उनी भन्छन्।
थातथलोमै फर्किएर जाने रहर छैन, जाने ठाउँ पनि कतै छैन।

मांखा कागुनेका बहादुर तामाङको परिवार २ वर्षसम्म लामोसाँघुस्थित नेपाल ओरियन्ट म्याग्नेसाइट परिसरमा पालमै बसे। सडक विभागले जग्गा खाली गर्न भनेपछि उनको परिवार त्यहाँबाट पनि विस्थापित भयो। पहिरोले उनको परिवारलाई कागुनेबाट विस्थापित गरायो, म्याग्नेसाइटबाट सरकारले नै उनको परिवारलाई विस्थापित बनायो र पहिरोमुनिको ड्यामसाइडमा पुर्यायो।

ड्यामसाइडमा एउटा कुखुरा फर्मलाई भाडामा लिएर बसिरहेका छन् उनी। मासिक १ हजार भाडामा लिइएको त्यही टहरो नै उनको घर हो। पहिरोले जग्गा–जमिन सबै लग्यो, पहिरोको थाप्लोमा रहेको घर पनि भूकम्पमा भत्किएपछि थातथलोमा अब कहिल्यै नफर्कने मनस्थितिमा छन् उनी। ‘घर भएको ठाउँ त अहिले झाडी भएको छ, अब त गाउँमा गएर बस्न सकिँदैन’, बहादुरकी पत्नी सुनमायाँ भन्छिन्– ‘कुखुरा पाल्ने टहरो भाडामा लिएर बसिएको छ।’ परिवारको आयस्रोत केही छैन, बहादुरले हलो जोतेर नै ७ जनाको परिवार पाल्दै आएका छन्। ‘कमाई छैन, महिनाको १ हजार त भाडा तिरेर बस्नुपर्छ’ –सुनमायाँ सुनाउँछिन्।

ड्यामसाइड, जुरेको भूगोल नै बदलिएको छ। घर रहेको जग्गाको निसाना नै हराएपछि पहिरोमा घरसँगै परिवारका ४ सदस्य गुमाएका रुवेन पौडेल अब जुरेमा फर्कने छैनन् सायद। पहिरोमा पत्नीसहित दुई नाबालक छोराछोरी र भाइलाई गुमाए उनले। उनीहरूको शवसम्म नभेटिएपछि कुशको शव बनाई काजकिरिया गरेका थिए उनले। जब–जब जुरेको जग्गामा उनले पाइला टेक्छन्, पहिरोको पीडा बल्झिएर आउँछ। पहिरोले घरसँगै उनको सुखी परिवार नै भत्काइदियो। पहिरोले जिन्दगीका रहरहरू नै सुनकोसीमा बगाइदिएपछि थातथलो नै छाडिदिए उनले। जुरे विनाश लीलापछि थातथलो छाडेर काठमाडौंमा कोठा भाडामा लिएर उनी बसिरहेका छन्। उनी पनि अब अन्यत्रै बसोबासका व्यवस्था गर्नतर्फ लागेका छन्, तर पहिरोमा नफर्कने बताउँछन्। ‘मसानघाटमा के भनेर फर्कनु, अब अन्यत्रै बसोबास व्यवस्था गर्छु’ –उनी भन्छन्।

३ वर्ष बित्यो, पहिरोका पीडित तथा विस्थापितहरूले सरकारी तहबाट कुनै सहायता पाएनन्। तत्कालीन अवस्थामा संघ–संस्थाहरूले नै जुरेपीडितलाई आवश्यक राहत सहयोग गरे। संघ–संस्थाले दिएका राहत सामग्री नै सरकारी निकायले वितरण गरेको हो। किरियाखर्च र मृतक परिवारलाई राहतबाहेक सरकारी निकायबाट कुनै काम नै भएन। जुरे पहिरोपीडितका लागि देश विदेशबाट संकलन भएको २ करोड २५ लाख रुपियाँ केन्द्रीय दैवी प्रकोप उद्धार समितिको खातामै थन्किएर बसेको छ। जसको नाममा रकम जुट्यो उनीहरूले पाएनन्, सरकारी खातामै रहिरह्यो।

बरु भूकम्पपीडित सरह नै निजी आवास पुनर्निर्माण अनुदानको पहिलो किस्ता जुरेपीडितले पाए तर पहिरोपीडितका नाममा सरकारी खातामा जम्मा भएको रकम उनीहरूले पाएनन्। विस्थापित जीवन बिताइरहेका उनीहरूले पहिलो किस्ताको ५० हजार पनि घर व्यवहार धान्नमै खर्चिएका छन्। अब दोस्रो किस्ताको रकम पाएपछि मात्र घर बनाउने सुरमा छन् उनीहरू। ‘सरकारले पैसा दिन्छ रे भन्ने सुनिएको छ, पैसा दियो भने घर बनाउने हो’ –८० वर्षकी मंगली तामाङ भन्छिन्।