चार बालिकाको मृत्यु प्रकरण: गरुडा शोकमा, संसद्मा आक्रोश



 

नेपाल समाचारपत्र
काठमाडौं
व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा सभामुख ओनसरी घर्तीले रौतहटको गरुडामा ४ बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटनाबारे नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउनुभएको छ।

उहाँले व्यवस्थापिका–संसद्को बैठकमा सोबारे जवाफ दिन सरकारलाई निर्देशन दिनुभयो। आइतबारको बैठकको प्रारम्भमा समय माग गर्दै नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सो सडक निर्माणमा संलग्न ठेकेदारको लापरबाहीको आलोचना गर्नुभएको थियो।

उहाँले आफूहरूले यस्ता घटना हुन नदिनेतर्फ आवश्यक प्रयास गर्न सरकारको पटकपटक ध्यानाकर्षण गराएको तर त्यसको सुनुवाइ नभएको बताउँदै मृतक बालिकाका अभिभावकलाई क्षतिपूर्तिको व्यवस्था गर्न र लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्न माग गर्नुभयो।

देशका विभिन्न भागका सडकका खाल्डा नपुरिँदा हालैका दिनमा ११ बालबालिकाको मृत्यु भइसकेको जानकारी पनि उहाँले दिनुभयो।
सांसद ढकालले गरुडा घटनालगायत सडकका खाल्डामा डुबेर ज्यान गुमाएका तथा त्यस्तै प्रकृतिका घटनाका सम्बन्धमा सरकारले सदनलाई जानकारी नदिएसम्म संसद्को कारबाही सञ्चालन गर्न नदिने भनेपछि एमालेका सबै सांसद आ–आफ्नो आसनबाट उभिनुभएको थियो।

विपक्षी दलले उठाएका विषयमा सरकारलाई गम्भीर हुन सभामुखले निर्देशन दिँदै अर्को बैठकमा सरकारबाट जवाफ आउने प्रतिबद्धता व्यक्त गरेपछि एमालेका सांसद आ–आफ्ना आसनमा बस्नुभएपछि बैठक सञ्चालन भएको थियो। त्यस्तै आइतबारको बैठकको शून्य समयमा सांसद् रामहरि खतिवडाले प्रधानमन्त्रीले १५ दिनभित्र काठमाडौंका सडकका खाल्डा पुर्न निर्देशन दिए पनि काम नभएकामा आपत्ति जनाउँदै रौतहटमा ४ बालिकाको मृत्यु हुनु अति पीडादायी घटना हो भन्नुभयो।

सांसद रामनारायण बिडारीले सडकमा खनिएको ‘एम्बुसरूपी’ खाडलले बालिकाहरूको ज्यान लिएकाले खाल्डा खन्ने तर नपुर्नेलाई कारबाहीको माग गर्नुभयो। सांसद रामअयोध्या यादवले गरुडामा सामान्य असावधानीका कारण बालिकाहरूले जीवन गुमाएकोमा दुःख व्यक्त गर्नुभयो। यसैबीच रौतहट संवाददाताका अनुसार शनिबारको सो घटनापछि गरुडा क्षेत्र शोकमा डुबेको छ।

प्रतिक्रिया दिनुहोस्