राजपाको केन्द्रीय समिति बैठक शुरू, असन्तुष्टहरू आए तर मञ्चमा गएनन्

0
Shares

 

बीपी साह, काठमाडौं
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको दोस्रो केन्द्रीय समिति बैठक आइतबारबाट काठमाडौंमा शुरु भएको छ। स्थानीय तहको निर्वाचन तेस्रो चरणको निर्वाचनमा सहभागी हुने अथवा नहुने विषयमा अन्तिम टुंगो लगाउन र पार्टीको सांगाठनिक संरचना तथा जिम्मेबारी बाँडफाँडको विषयमा बैठक केन्द्रित भएको छ।

पदाधिकारी बैठकले निर्वाचनमा सहभागी नहुने राजनीतिक प्रतिवेदन पारित गरे पनि त्यसको अन्तिम टुंगो केन्द्रीय समितिबाट लगाइनेछ। यसै बैठकबाट राजनीतिक समितिसहित असन्तुष्ट नेताहरूलाई थप जिम्मेबारी पनि दिइनेछ। पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला संयोजक तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू गरी करिब १ हजारको संख्यामा रहेका सहभागीहरूलाई ३० वटा समूहमा विभाजन गरिएको छ। ती समूहलाई मुख्यरूपमा तीन वटा एजेनडामाथि छलफल गर्न लगाइएको छ।

बैठकमा सहभागीहरूले २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी हुने कि नहुने विषयमा छलफल गर्नेछ। निर्वाचनमा सहभागी भए किन सहभागी हुनुपर्ने अथवा सहभागी नभए किन सहभागी नहुने भन्ने कारणमाथिसमेत छलफल गर्न आग्रह गरिएको छ।

त्यस्तै, पार्टीको संरचना र जिम्मेबारीका विषयमा पनि समूहमा छलफल हुनेछ। समूहमा छलफल भएपछि समूहका नेताहरूले आफ्ना समूहको कुरा राख्नेछन्।
आइतबार उद्घाटन सत्रमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सीमाकंनबिनाको संशोधन र बिनाउपलब्धि निर्वाचनमा सहभागी हुनुको औचित्य नरहने प्रस्ट पार्नुभएको थियो। उहाँले देशमा यस्तै द्वन्द्व रहिरहे कुनै पनि बेला विस्फोट हुनसक्ने चेतावनीसमेत दिनुभयो।

पहिलो दिनको बैठकमा प्रदेश नम्बर ५ बाट हृदेयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, प्रदेश नम्बर ७ बाट मालामती राणा थारू र प्रदेश नम्बर १ बाट सन्तोष मेहताले आफ्नो धारणा राखेपछि अध्यक्ष मण्डलका सदस्यहरूले बोल्नुभएको थियो।
बैठकमा त्रिपाठीले निर्वाचन रोक्न सक्ने अवस्था नआए निर्वाचनमा सहभागी हुन सुझाव दिनुभयो। मेहताले भने बिनाउपलब्धि निर्वाचनमा सहभागी हुनु उपयुक्त नहुने बताउनुभयो।

आइतबार अबेरसम्म अध्यक्ष मण्डलका सम्पूर्ण सदस्यहरूले धारणा राखेपछि सोमबार बिहान ८ बजेबाट समूहगत छलफल शुरु हुने सचिव सुरेश मण्डलले जानकारी दिनुभयो।

नेतृत्वप्रति असन्तुष्ट हुँदै पदाधिकारी बैठक बहिष्कार गरेका नेताहरू केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्। नेताहरू हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला र बृजेश गुप्तालगायतले पदाधिकारी बैठक बहिस्कार गर्नुभएको थियो।
जसमध्ये त्रिपाठी र शुक्ला केन्द्रीय समिति बैठकमा सहभागी हुनुभएको छ।

उहाँहरू बैठकमा सहभागी भए पनि पदाधिकारीको मञ्चमा आसन ग्रहण गर्नुभएन। उहाँहरूलाई आग्रह गर्दा पनि उहाँहरू मञ्चको तल नै बस्नुभएको थियो। पार्टी एकीकरणमा सम्मानजनक स्थान पाउन असफल हुनुभएका त्रिपाठीले असन्तुष्टि जनाउँदै आउनुभएको छ। पार्टी एकीकरण घोषणा कार्यक्रममा पनि उहाँहरू मञ्चमा सहभागी हुनुभएन।

आइतबार केन्द्रीय समिति बैठक शुरु हुनअघि राजपा संयोजक ठाकुरले त्रिपाठी, शुक्लालगायतका नेताहरूसँग छलफल गर्नुभएको थियो।