‘मुलुकको समृद्धिका लागि ऊर्जा र पर्यटन क्षेत्रको विकास अपरिहार्य’

0
Shares

 

काठमाडौं, (नेस)
अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकको समृद्धिको मुख्य आधारको रूपमा ऊर्जा र पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ।

शनिबार राजधानीमा भोजपुर–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो।
मन्त्री कार्कीले मुलुकलाई समृद्धशाली राष्ट्रको ठाउँमा पुर्याउन अर्थमन्त्रीको भूमिकामा आफूले दिनरात नभनी काम गरिरहेको बताउँदै मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउनका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गनुपर्ने समेत बताउनु भयो।

मन्त्री कार्कीले आफ्नो कार्यकालमा अघि बढाएको अरूण तेस्रो, माथिल्लो तामाकोशी र माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि मुलुकले कायपलट गर्ने धारणा समेत राख्नुभयो। उहाँले भन्नुभयो,–‘पूर्व र पश्चिमको समतामूलक विकास गर्नका लागि पूर्वमा अरूण तेस्रो, मध्येमा माथिल्लो तामाकोशी र पश्चिममा माथिल्लो कर्णाली आयोजनालाई छनोट गरि अघि बढाइएको र यी आयोजना निर्माण भई सञ्चालनमा आएपछि नेपालले समृद्धिको गति लिन्छ। यस्ता राष्ट्रिय महत्वका थुप्रै आयोजनाहरू पहिचान गरि अघि बढाउन अर्थमन्त्रीको रूपमा भूमिका खेल्ने छु।’

लगानी मैत्री वातावरण निर्माण गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै अर्थमन्त्री कार्कीले त्यसका लागि आवश्यक कदम चाल्ने बताउनु भयो। आफ्नो कार्यकालमा जनताले अनुभूत गर्ने गरी आर्थिक क्षेत्रको विकास गरिने समेत दावी गर्नु भयो। आफू काम गर्ने ठाउँमा रहेको बेला भोजपुरले विकासमा फड्को मारेको स्मरण गराउँदै अब पनि जिल्लाको शैक्षिक, भौतिक, आर्थिक, समाजिक लगायतका क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो।

सोही कार्यक्रममा वाणिज्य मन्त्री मीन बहादुर विश्वकर्माले मुलुकको व्यापार घाटा न्यूनिकरण गर्न र व्यापार प्रबर्द्धन गर्नका लागि आफूले विशेष भूमिका निर्वाह गर्ने बताउनु भयो। उहाँले निर्यात बुद्धि गर्नु पर्ने तर्क गर्दै यसका लागि विशेष गृहकार्य गरिरहेको र भोजपुर, संखुवासभा र आसपासको क्षेत्रमा उत्पादन हुने पवित्र रुद्राक्षलाई विदेशमा निर्यात हुने बस्तुको सूचिका सूचिकृत गर्दै यसको प्रबर्द्धन, संरक्षण, र व्यावसायिक उत्पादनका लागि भोजपुर, खाँदबारी र धरानलाई छनोट गरि विशेष कार्यक्रम अघि बढाईने बताउनुभयो।

त्यस्तै पूर्व अर्थमन्त्री शंकर कोइरालाले इमानदार भएर लागि पर्ने हो भने मुलुकको समृद्धि टाढा नरहेको बताउनुभयो। भोजपुर–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष अधिवक्ता केदार कार्कीले मुलुकको विकासको लागि विदेशी लगानी महत्वपूर्ण रहेको धारणा राख्दै त्यसका लागि विद्यमान ऐन कानूनमा समयानुकूल परिमार्जन गर्नुपर्ने बताउनुभयो। उहाँले ठूलो मात्रामा विदेशी लगानी भित्राउन र लगानी मैत्री वातावरण बनाउनका लागि सरकारले सोही अनुकूलको नीति अख्तियार गर्नुपर्ने धारणा राख्नुभयो।