लोडसेडिङलाई दुहूनो गाई बनाउन दिन्नः ऊर्जामन्त्री

0
Shares

 

नोपल समाचारपत्र
हेटौंडा
ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले लोडसेडिङलाई लुट्ने, कमाई खाने भाँडो र दुहूनो गाईका रूपमा प्रयोग गर्न नदिइने दावी गर्नुभएको छ। शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शाहीले औद्योगिक तथा व्यक्तिगत क्षेत्रमा विद्युत् कटौती बन्द गर्नु आफ्नो कार्यकालको प्रमुख उद्देश्य भएको बताउनुभयो।

मुलुकको अर्थ रणनीतिका लागि ऊर्जाको भूमिका महत्वपूर्ण हुने भन्दै विकासका हरेक पक्षका लागि ऊर्जा जरुरी रहेको मन्त्री शाहीको भनाई थियो। तर, मुलुकमा काम गर्न नदिने, झोलामा खोला बोकेर हिँड्ने तथा थप विद्युत् उत्पादन गर्न नदिने दलालको चलखेल भइरहेकोमा मन्त्री शाहीले चिन्ता व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै मन्त्री शाहीले भन्नुभयो,–‘विभिन्न तत्व हाम्रो अगाडी बाधक बनेका छन्। हामीलाई काम गर्न दिन सबैले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्छ।’

हेटौंडा उद्योग संघले शनिबार गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री शाहीले विद्युत् भार कटौती अन्त्य गरेर मात्र नपुग्ने र माग पूर्तिका लागि विद्युत् उत्पादनमा जोड दिनुपर्नेमा जोड दिनुभयो। उहाँले राष्ट्रिय लगानीले मात्र जलविद्युत् उत्पादन पूर्ति हुने नभएकाले चाँडै नै आवश्यकताअनुसार विदेशी लगानी ल्याइने समेत स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो,–‘सरकारी र राष्ट्रिय पूँजीपति वर्गसँग रहेको रकमलाई उपयोग गरी विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिने छौं।’

उहाँले विकासको महत्वपूर्ण आधार र पूर्वाधार ऊर्जा भएकाले ऊर्जा क्षेत्रमा सरकारले ठोस ढंगले काम गरिरहेको बताउनुभयो। औद्योगिक क्षेत्रमा हुने लोडसेडिङ अन्त्यका लागि व्यवसायीले समेत सहयोग गर्नुपर्ने उहाँको बुझाई थियो।

मन्त्री शाहीले मुलुकलाई अँध्यारोमुक्त बनाउने अभियानमा बाधागर्ने जोसुकैलाई नछाडिने बताउनुभयो। मन्त्री शाहीले मुलुकमा लोडसेडिङमुक्त भएमात्र स्वदेशमा थप उद्योग धन्दा खुल्ने, स्वरोजगार सिर्जना हुने जसका कारण युवाले विदेश जानु नपर्ने बताउनुभयो।

‘हामी देशलाई अँध्यारोमुक्त बनाउने अभियानमा लागेका छौं, तसर्थ अँध्यारो बनाउनेलाई छाडिँदैन।’ उहाँले भन्नुभयो। यदि निर्वाध रूपले काम गर्न पाए देशमा लोडसेडिङ कहिल्यै हुने छैन। उहाँले आफू मन्त्री बनेपछि लोडसेडिङबाट देशलाई पूर्ण रूपमा मुक्त गर्न थप गृहकार्य गरिरहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष राजकुमार न्यौपाने आदिको सहभागिता थियो।

कार्यक्रममा बोल्दै घिसिङले नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका काममा अवरोध भएको जानकारी दिनुभयो। बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएका विभिन्न कार्यक्रम रोकिएकाले मुलुक पुनः लामो लोडसेडिङतर्फ जाने हो कि भन्ने चिन्ता रहँदा घिसिङको यस्तो भनाई आएको हो।

‘यसले गर्दा हिउँदमा लोडसेडिङ हुने सम्भावना देखिएको हो। बिजुलीको माग बढिरहेको छ, तर त्यस अनुपातमा विद्युत् उत्पादन बढेको छैन।’ घिसिङले भन्नुभयो। पहिले १३ घण्टा लोडसेडिङभएको अवस्थाबाट हाल ३ घण्टामा सीमित भएको अवस्थामा राहत महशुस गर्न हेटौंडा औद्योगिक क्षेत्रका उद्योगीसँग उहाँले आग्रह समेत गर्नुभयो।

‘हामी रक्सौल–परवानीपुर १ सय ३२ केभी चार्ज गर्ने प्रयासमा छौं, त्यसले विद्युत् कटौतीमा सुधार ल्याउन सकिनेछ।’ उहाँले प्राविधिक रूपमा हुने कटौतीलाई नियमित विद्युत् कटौतीका रूपमा नलिन व्यवसायीसँग आग्रह गर्नुभयो।
मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष राजकुमार न्यौपानेले सर्वसाधारणले लोडसेडिङबाट मुक्ति पाएपनि उद्योगीले मुक्ति नपाएको गुनासो गर्नुभयो। उहाँले हेटौंडा औद्योगिक क्षेत्रमा करिब २० वटा उद्योगले विद्युत् अभावमा एक वर्षदेखि भाडामात्र तिरेर चुपचाप बसिरहनु परेको बताउनुभयो।

मन्त्रीसहितको टोलीले हेटौंडामा निर्माणाधीन १४ मेगावाटको कुलेखानी–३ को स्थलगत अध्ययन गरी समयमै काम सक्न निर्देशन दिएको थियो। पटकपटक समय थप गर्दा पनि तीव्र गतिमा काम हुन नसकेपछि ऊर्जा मन्त्रालयको टोलीसहित विद्युत् प्राधिकरणले अनुगमन गरेको हो।

शनिबार मन्त्रालय टोलीले अनुगमन गर्दा सुस्त गतिमा काम गरेको पाइएपछि कारबाहीको चेतावनीसहित निर्देशन दिइएको छ।