वार्षिक ३४ करोडको छाता

0
Shares

 

काठमाडौं, (नेस)
गर्मीयाम र बर्षात् शुरु भएसँगै बजारमा छाताको माग बढेपछि आयात पनि अन्य वर्षको तुलनामा गत आर्थिक वर्षमा निकै बढेको छ। फुटपाथ देखि ठुला सपिङ सेन्टरमा समेत स्थान पाएको छाता व्यापार अघिल्ला बर्षको तुलनामा निकै बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

असार साउनको झरी मात्र नभई चैत वैशाखको उखरमाउलो गर्मीमा पनि छाताले उत्तिकै साथ दिन्छ। हिन्दु संस्कारका विभिन्न उत्सवमा पनि छाताको प्रयोग गरिन्छ। विवाह ब्रतबन्धमा छाता ओढ्ने मात्र होईन मृत्यु संस्कारमा दानको रूपमा पनि छाताको प्रयोग गरिन्छ।

छाताको गुणस्तर, आकार र बनावट अनुसार मुल्यमा पनि निकै फरक छ। सामान्यतया २ सय रुपियाँदेखि ८ सय रुपियाँसम्म पर्ने छाता बढी मात्रामा बिक्री हुने गरेको व्यापारी बताउँछन्। छाताको बजार भने ठुला पसल तथा सोरुममा भन्दा पनि फुटपाथ मै बढी छ। गर्मीयाम र बर्षात् शुरु भएसँगै बजारमा छाताको माग बढेपछि आयात पनि बढेको देखिन्छ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष मुलुकले वार्षिक ३३ करोड ८९ लाख ३५ हजार रुपियाँ बराबरको छाता आयात भएको छ। जसमार्फत ९ करोड २४ लाखभन्दा बढी राजश्व संकलन भएको छ।

नेपालमा अन्य मुलुकको तुलनामा चीनबाट ठुलो परिमाणमा छाता भित्रिन्छन्। छाताको आयातमा कुल आयातको ९८ प्रतिशत चीनबाट मात्र आयात हुन्छ। भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ४७ लाख ६० हजार पिस छाता नेपाल भित्रिएको छ। यसरी हेर्दा औसतमा एउटा छाताको मुल्य ७० रुपियाँ देखि ७५ रुपियाँसम्म पर्ने देखिन्छ।

गत आर्थिक वर्ष २९ करोड ८० लाख रुपियाँ बराबरको छाता चीनबाट आयात भएको छ भने भारतबाट झण्डै ४० लाख रुपियाँ बराबरको छाता आयात भएको छ। भारत र चीनबाहेक भियतनाम, अमेरिका, हङकङ, इन्डोनेसिया, थाईल्यान्डलगायत तेस्रो मुलुकबाट पनि छाताको आयात हुने गरेको छ। गत आर्थिक वर्षमा ११ करोड ४५ लाख ८९ हजार रुपियाँ बराबरको छाता नेपालमा आयात भएको थियो। सो मार्फत ३ करोड १८ लाख ७० हजार रुपियाँ राजश्व राज्यकोषमा जम्मा भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७१⁄७२ को अवस्था हेर्दा १४ करोड ९३ लाख १३ हजार रुपियाँ बराबरको आयात थियो भने सो मार्फतको राजश्व संकलन ४ करोड १४ लाख ४६ हजार रुपियाँ बराबर थियो।