रोटरी कपिलवस्तुमा पद हस्तान्तरण

0
Shares

 

नेपाल समाचारपत्र
चन्द्रौटा, (कपिलवस्तु)
रोटरी क्लब अफ कपिलवस्तुले एक कार्यक्रमकाबीच पद हस्तान्तरण गरेको छ। जिल्लाको चन्द्रौटामा आयोजित भव्य कार्यक्रमबीच जोन १६⁄१७ का अध्यक्ष डा. प्रकाश पौडेलले जोन १७⁄१८ का अध्यक्ष इस्तियाक अहमद खान (आईए खान) लाई आफ्ना सम्पूर्ण पदभार हस्तारण गर्नुभएको हो।

पद हस्तान्तरण गर्दै पौडेलले आफ्नो एक वर्षे कार्यकालमा गरेका महत्त्वपूर्ण कामको चर्चासमेत गर्नुभएको थियो। एक वर्षको अवधिमा रोटरीले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, योग शिविर, कन्या विद्यालयलाई कम्प्युटर प्रदान, अग्नि पीडितहरूलाई ७ लाख बराबरको राहत सामग्री वितरणलगायतका महत्त्वपूर्ण कार्य गरेको पौडेलले उल्लेख गर्नुभयो। पौडेलले पद हस्तान्तरण गर्दै जोन १७⁄१८ का अध्यक्ष आईए खानलाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना दिनुभयो। कार्यक्रमका बीच उहाँले सशस्त्र प्रहरी चन्द्रौटालाई आगलागी नियन्त्रणमा प्रयोग हुने अत्यावश्यक सामग्रीसमेत प्रदान गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सामाजिक कार्य र अनुशासनमा रोटरी अग्रपंक्तिमा रहेको औंल्याउँदै सामाजिक कार्यमा आफ्नो छवि सधैं उँचो राख्न सुझाव दिनुभयो। साथै नगरप्रमुख अधिकारीले नयाँ समितिका पदाधिकारीहरूको कार्य सफलताको शुभकामना दिँदै सामाजिक कार्यमा रोटरीसँगै हातेमालो गरी काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो।